१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विप्लवका दाजु वीरजंगलाई नवलपरासी अदालतमा पेश गरियो



चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहा भएका छन् । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । उनलाई शुक्रबार नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको छ । पहिला २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्न नमानेका वीरजंग अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख जेलर काफ्लेले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो । अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो । जेलर काफ्लेका अनुसार वीरजंगलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो । बम विस्फोटको मुद्दामा कारागार चलान भएका वीरजंग सामान्य अन्य कैदीसरह नै बसेको र सामान्य व्यवहार गरेको जेलर काफ्लेले बताए । ‘उहाँले जाने बेलामा धन्यवाद नै दिएर जानुभयो, बीचमा विप्लव पनि भेट्न आउनुभएको थियो,’ जेलर काफ्लेले भने, ‘हामीले सामान्य ढंगले नै नियमअनुसार राखेका थियौं ।’ सरकार र नेकपा विप्लवको बीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस !