१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सङ्कटमा जैविक विविधताकाे खानी घोडाघोडी ताल



कैलाली- घोडाघोडी ताल क्षेत्रमा पहिले देखिएका चराहरू अहिले देखिन छाडेका छन् । नकटा हाँस देखिन छाडेको त वर्षौं भइसक्यो । विश्वव्यापी महत्त्वको सिमसार सूचीमा रहेको घोडाघोडी क्षेत्रका २४ वटा प्राकृत तालहरूमध्ये सात वटा सुकेर चौरमा परिणत भएका छन् । बाँकी रहेका तालमा पानीको सतह घट्दो छ । चुरे दोहन, वन फँडानी एवं माछाको अवैध सिकारलगायत कारणले घोडाघोडीको जैविक विविधता मासिँदै छ । बेला बेलामा संरक्षणका योजनाहरू बने, नीतिहरूको घोषणा भयो तर प्रभावकारी कार्यान्वयन नहुँदा ताल क्षेत्रको सङ्कट गहिरिँदो छ ।

जुलोजिकल सोसाइटी लन्डनका नेपाल कन्ट्री म्यानेजर तथा चरा विशेषज्ञ डा. हेमसागर बरालले सुरुमा घोडाघोडी घुम्दा देखिएका चराहरू अहिले देखिन छाडेको बताउनुभयो । “तराईमा पाइने चार प्रजातिका हाँसमध्ये सबैभन्दा ठुलो नकटा हाँस घोडाघोडीमा नदेखेको वर्षौं भयो,” उहाँले भन्नुभयो ।

ताल क्षेत्रको संरक्षणमा दुई दशकदेखि सक्रिय रहेका स्थानीय संस्था चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीका अनुसार, चरा नै घोडाघोडी ताल क्षेत्रको मुख्य आकर्षण हो तर जलाधार क्षेत्र नै सुक्दै गएपछि जैविक विविधतामा ह्रास आएसँगै पानीमा रमाउने चरा पनि सङ्कटमा परेका छन् ।
घोडाघोडी ताल क्षेत्र सम्पदा

स्थानीय नेटवर्कका अनुसार, २०५७ सालमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को अभिलेखमा १४० चरा रहेकोमा नेटवर्कले काम थालेपछि सन् २००९ मा २२६, सन् २०१४ मा २४८, सन् २०१९ मा २९९ र सन् २०२१ सम्म पुग्दा ३१९ प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा पाइएका छन् ।

यस्तै, ताल क्षेत्रमा सङ्कटापन्न कछुवा, मगरगोही, बाघ, मृग र अन्य स्तनधारी जन्तु पाइन्छन् । ताल क्षेत्रमा ३० प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी, सात प्रजातिका सरिसृप र ३१९ प्रजातिका रैथाने र घुमन्ते (पाहुना) चरा पाइने जानकारी बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले दिएको छ । घोडाघोडीमा कमल, सुनाखरी, जङ्गली धानसहितका ६४७ प्रजातिका वनस्पति पनि पाइन्छन् । यी वनस्पति र वन्यजन्तुमध्ये कतिपय सङ्कटापन्न, दुर्लभ र आइयुसिएनको ‘रेड लिस्ट’ मा सूचीकृत छन् ।


किन जोगाउने घोडाघोडी ताल क्षेत्र ?

सिमसार क्षेत्र, तालतलैया र पोखरीहरूका दृष्टिले समृद्ध कैलाली जिल्लाको घोडाघोडी ताल क्षेत्र रामसार महासन्धि अन्तर्गत ‘रामसार साइट’ मा सूचीकृत अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्र हो । दुई हजार ५६३ हेक्टरको सिमसार क्षेत्र २०६० साउन २८ मा विश्व रामसार सूचीमा समावेश गरिएको हो । घोडाघोडी सिमसार क्षेत्रमा २४ वटा ताल रहे पनि रामसार साइटले १३ वटा ताल तथा पोखरी मात्र समेटेको छ । तीमध्ये घोडाघोडी र नकरोडमा मात्र पानी देख्न सकिन्छ ।

“सिमसारका दुई मुख्य विशेषता पानी र जमिन सँगसँगै हुनु हो,” वातावरणविद् तिलक ढकाल भन्छन्, “घोडाघोडीमा किसिम किसिमका जीवजन्तु तथा वनस्पति छन् । तिनीहरूको अस्तित्व बचाई राख्न जैविक विविधताको संरक्षण आवश्यक छ ।”

ढकालका अनुसार, सिमसार क्षेत्रलाई विश्वकै सबैभन्दा बढी उत्पादनशील पारिस्थितिकीय प्रणाली मानिन्छ । ‘प्रकृतिको मिर्गौला’ मानिने सिमसारमा निरन्तर जल परिचालन र शुद्धीकरण प्रक्रिया चलिरहन्छ । सम्पूर्ण मानव, अन्य प्राणी एवं वनस्पति जगत्को अस्तित्व जोगाउने आधार भएकाले सिमसारलाई पर्यावरणीय सन्तुलन र जैविक विविधताको पर्यायको रूपमा हेर्नुपर्छ ।

डा. बरालको भनाइ छ– बर्डलाइफ इन्टरनेशनलमा उल्लिखित अन्तर्राष्ट्रिय ३७ क्षेत्रमध्ये नेपालको घोडाघोडी क्षेत्र पनि परेकाले यसको महत्त्व झन बढी छ । तराईको सबैभन्दा ठुलो प्राकृतिक ताल भएकाले यसभित्रको जैविक विविधता बचाइराख्न जलाधार क्षेत्र बचाउनु मुख्य चुनौती रहेको छ ।

घोडाघोडीमा पाइने विभिन्न जैविक विविधतामध्ये चराका लागि यो क्षेत्र निकै महत्त्वपूर्ण मानिएको छ । तर, यहाँ पाइने चराहरूमध्ये २८ प्रजातिका राष्ट्रिय स्तरमै लोपोन्मुख खतरा, दुई प्रजातिका अतिखतरा र ४१ प्रजातिका सामान्य खतरामा छन् । नेपाल पक्षी संरक्षण संघ कैलालीका सहायक फिल्ड अधिकृत हिरुलाल डगौराले कैलो टाउके हाँस, खोले हुट्टिट्याउँ, सुनौलो तोपचरा, कालो खैरो गिद्ध, सेतो गिद्ध, कुरारी फ्यालफ्याले, माछाकुललगायतका चरा लोप हुने खतरा बढेको बताउनुभयो । जङ्गल अतिक्रमण, चरीचरन, जङ्गल फँडानी, चोरी सिकारलगायतका गतिविधिले चराको वासस्थान नै असुरक्षित भई चराहरू लोप हुने खतरा रहेको डगौराले खुलाए ।

चरा संरक्षणका लागि घोडाघोडी ताल क्षेत्रमा हाल स्थानीय संस्था चरा संरक्षण नेटवर्क र नेपाल पक्षी संरक्षण संघले काम गरिरहेका छन् । वर्षमा दुई पटक असार र पुसमा उक्त क्षेत्रमा चरा गणना गरिन्छ । सूचक प्रजातिको रूपमा रहेको हरिहाँस र बगाले सिमकुखुराले सन् २०१५ देखि बच्चा कोरल्दै आए पनि ताल भने सुक्दै गएको छ । यसरी तिनीहरूलाई चाहिने बासस्थानको क्षेत्र घट्दै गएर नकारात्मक असर पर्न थालेको छ ।


हिउँदको समयमा साइबेरियन चराको आगमनले घोडाघोडी ताल क्षेत्र निकै रमणीय देखिन्छ । फिल्ड अधिकृत डगौराले २०७७ सालमा सुनजुरे हाँस, हरियो टाउके हाँस, कैलो टाउके हाँस, श्वेतआँखीभाँै, खडखडे हाँस, मरुल, ठुलो जलेवा, लघु राजपुत्रिका, चञ्चले सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनो ठुँडे, टिमटिमा डुबुल्कीलगायतका ६४ प्रजातिका चरा पाहुनाका रूपमा आएको बताउनुभयो । गर्मी बढेसँगै ती चराहरू साइबेरियातिरै फर्कन्छन् । उहाँले भन्नुभयो “पाहुना चराको सङ्ख्या पनि विगतको तुलनामा कम हुँदै गएको छ ।”

चराविद् डा. बरालले घोडाघोडी सिमसार क्षेत्रमा चरा गणनाका क्रममा प्रजातिको सङख्या बढेको देखिए पनि पहिला देखिएका चराहरूमध्ये अहिले धेरैजसो लोपोन्मुख अवस्थामा रहेको र कतिपय त लोप नै भइसकेका छन् ।

ताल क्षेत्रको रेखदेख कार्यमा २०६६ सालदेखि प्रत्यक्ष संलग्न रहेका घोडाघोडी नगरपालिका–१ घोडाघोडी गाउँका दीपक शाहले जति जति पछि भयो उति उति तालहरू सुक्दै गएको देखेका छन् । संघसंस्थाले भने जति प्रजातिका चरा पनि अहिले नरहेको बताउँदै उनले भने, “रोड छेउमा देखिने मुख्य तालमा पानी देखिए पनि भित्रभित्र हेर्ने हो भने तालहरू बेसरम र जलकुम्भी झारले ढाकिएका छन् ।”

घोडाघोडी गाउँकै हेमा विकले विगत सम्झँदै भन्नुभयो– कुलामा वर्षभरि पानी बग्दथ्यो । गर्मीमा पनि चिसो हावा आउँथ्यो । वरपरका खेतबारीमा वर्षभरि खेतीपाती र तरकारी हुन्थ्यो । तालबाट कुलो लगेर पानीमिल चलाइएको थियो । अब त धानको बिउ राख्ने पानीसमेत पाउन गारो हुन्छ ।
ताल क्षेत्रमा पछिल्ला दुई दशकमा भएका परिवर्तनका अर्का प्रत्यक्षदर्शी घोडाघोडीकै ६८ वर्षीय पदम ढकाल पनि हुन् । उनका अनुसार, प्राकृतिक तालमा विभिन्न प्रजातिका माछा हाल्ने काम भयो र ताल पूरै सुकाएर माछा निकाल्ने गरियो । यसो गर्नाले धेरै ताल सुक्न थाले । रैथाने माछा पनि हराउँदै गए । पहिला पहिला तालकै माछा खान विभिन्न थरीका चराहरू तालमा आउँथे । धेरै रमाइलो देखिन्थ्यो । अहिले माछा जति मान्छेले निकालेपछि चराले के खाएर बाँच्ने ? देखिनै छाडे । रमाइलो पनि हुन छाड्यो ।

संरक्षण प्रयासहरू

सर्वसाधारण सबैको पहुँच, उपयोग र सुविधाका रूपमा रहिआएका सिमसार क्षेत्रहरूको संरक्षण गर्ने काम आफैंमा चुनौतीपूर्ण हुन्छ । सिमसार नीति घोषणा भएको झन्डै दुई दशक भइसकेर पनि बढ्दो जनसङ्ख्याको चाप र जलवायु परिवर्तनका चुनौतीहरूले गर्दा त्यसको अपेक्षित कार्यान्वयन भएको देखिँदैन ।

‘राष्ट्रिय सिमसार नीति, २०५९’ सिमसार क्षेत्रको संरक्षणको दिशामा महत्त्वपूर्ण कदम थियो तर सो नीतिबाट सिमसार क्षेत्रसँग सम्बन्धित समस्या तथा सवालहरूलाई एकाकार गरी समन्वयात्मक ढङ्गले कार्यान्वयन गर्न नसकिएको अनुभव गरियो । र, ‘सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने’ लक्ष्य राखेर ‘राष्ट्रिय सिमसार नीति, २०६९’ को घोषणा गरियो ।

घोडाघोडी ताल क्षेत्र रामसार महासन्धिमा सूचीकृत हुनुपूर्व स्थानीयले सिमसार क्षेत्रको महत्त्व बुझेर जैविक विविधता जोगाउनेबारे खासै चासो राखेका थिएनन् । पछिल्ला समयमा भने साबिक रामशिखर झाला, दरख र साँडेपानी गरी तीन गाविसमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र वरपरका वासिन्दा सामुदायिक वनमा आबद्ध भई ताल संरक्षणमा जुटेका छन् । यसको संरक्षण र व्यवस्थापनका लागि सुरुमा आइयुसिएनले सन् १९९६ मा दुई वर्षका लािग सचेतना कार्यक्रम सञ्चालन गरेको नेटवर्कका अध्यक्ष चौधरीले बताए ।

डा. तीर्थबहादुर श्रेष्ठका अनुसार, आइयुसिएनकै तत्त्वावधानमा नेपाल प्राकृतिक विज्ञान समाज तथा घोडाघोडी क्षेत्र संरक्षण तथा विकास समितिको संलग्नतामा व्यापक अध्ययन र छलफलबाट सहभागितामूलक व्यवस्थापन कार्ययोजना बनाइएको र सन् २०५४ साल चैत १७ मा घोडाघोडी ताल क्षेत्रमा बसेको सामुदायिक सभाले कार्ययोजना अनुमोदन गरेको थियो । तर, त्यसको विधिवत् कार्यान्वयन भने हुन सकेन । यस्तै, विश्व वन्यजन्तु कोषले २०५८ सालमा घोडाघोडी ताल क्षेत्रको दीर्घकालीन संरक्षण योजना र २०६४ सालमा चार वर्षे कार्ययोजना बनाएर नेपाल सरकारसमक्ष पेस गरेको थियो । त्यसको पनि कार्यान्वयन हुन नसकेको डा. श्रेष्ठले ‘नेपाल अध्ययन’ (भाग १) सङ्गृहीत ‘घोडाघोडी ताल ः के हेर्ने, कसरी बुझ्ने !’ शीर्षक लेखमा टिप्पणी गरेका छन् ।

सन् २००७ मा नेपालको सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबिच नेपालका सिमसार क्षेत्रहरूको संरक्षण र दिगो प्रयोगसम्बन्धी पाँच वर्षीय परियोजना सञ्चालनबारे सहमति भएको थियो । सन् २००८ मा औपचारिक आरम्भ गरिएको उक्त परियोजनाको एक मुख्य अङ्ग घोडाघोडी ताल क्षेत्र थियो ।

घोडाघोडी नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष मैना ढकालका भनाइमा सामुदायिक वनका उपभोक्ताले वनको संरक्षण नगरेको भए तालहरू उहिले सुकिसक्थे । उनले चारैतिर १८ वटा सामुदायिक वन रहेका जनाउँदै पानीसँगै वनमा चराहरू रमाउने गरेको पनि बताइन् ।


अबको बाटो

“सिमकुखुरा, बगालेहाँस, हरिहाँसले बच्चा कोरल्न र हुर्काउन महत्त्वपूर्ण मानिएको घोडाघोडी सिमसार क्षेत्रको जैविक विविधता बचाउने हो भने सरकारले चरा अभय केन्द्र (बर्ड स्याङ्चुअरी) घोषणा गर्नुपर्छ । सिमसार क्षेत्रलाई असर पार्ने चुरे दोहन, वन फँडानी, माछाको अवैध निकासी, अव्यवस्थित भौतिक संरचना निर्माणलगायतका काममा रोक लगाउनुपर्छ,” डा. बरालको सुझाव छ ।

बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष एवं नेटवर्क अध्यक्ष चौधरीले अहिलेसम्म घोडाघोडीमा सरकारको प्रत्यक्ष उपस्थितिमा काम नभएको र एक दर्जनभन्दा बढी संघसंस्थाले घोडाघोडीको संरक्षणका लागि करोडौं रकम खर्चे पनि त्यसको उपलब्धि नदेखिएको बताए । उनले चरा अभय केन्द्र घोषणापछि केन्द्र सरकारले वार्षिक बजेट छुट्ट्याएर काम गर्नुपर्ने भएकाले यसको संरक्षण दीर्घकालीन हुने विचार व्यक्त गरे ।


घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले अन्तर्राष्ट्रिय महत्त्व बोकेको जैविक विविधताले महत्त्वपूर्ण क्षेत्रको संरक्षणको दायित्व केन्द्र र प्रदेश सरकारको बढी भएको औंल्याउँदै १० वर्षे गुरुयोजना बनाएर संरक्षण र विकासमा प्रदेश र संघीय सरकारसँग समन्वय गरेर जाने योजना बनाएको जानकारी दिए । उनले निकट भविष्यमा घोडाघोडीलाई चरा अभय केन्द्रको रूपमा विकास गर्न लागिएको पनि बताए ।

सिमसार र ताल व्यवस्थापनको क्षेत्रमा १० वर्षभन्दा बढीको अनुभव सँगालेका यम बमको विचारमा नेपाल सरकारले सिमसार क्षत्रमा धेरै लगानी गरेको छैन । केन्द्रीय वनमन्त्री प्रेमबहादुर आलेका विज्ञ सल्लाहकार बमले सरकारले प्रजातिमा आधारित जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्ने लक्ष्य लिएको जानकारी दिँदै भने, “स्थानीय तहसँग समन्वय भएको छ र घोडाघोडी सिमसार क्षेत्रलाई चुरेसम्म जोडेर चरा अभय केन्द्रको रूपमा विकास गरी जैविक विविधता संरक्षण गर्ने सोच सरकारले बनाएको छ ।”

घटनाक्रमले देखाउँछ, घोडाघोडी ताल क्षेत्र संरक्षणका लागि योजनागत प्रयासहरू भएका छन्, तर ती कार्यान्वयन तहमा पुगेका छैनन् । यसैले डा. तीर्थबहादुर श्रेष्ठको भनाइ अहिले पनि उत्तिकै विचारणीय छ, “घोडाघोडी ताल क्षेत्रलाई आज योजना होइन कार्यान्वयनको कार्यक्रम चाहिएको छ ।”

गोरखापत्रअनलाईनका लागि चाँदनी आचार्यद्वारा 

(यो आलेख÷फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता : रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)


प्रतिक्रिया दिनुहोस !