१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बैगुनी भारतीय प्रहरी, अक्सिजन बाड्नेलाई पक्राउ गरी मुद्धा चलाईयो



काठमाडौं । कोरोना संक्रमित बिरामीलाई अहिले अक्सिजन अत्यावश्यक भएको छ । अक्सिजन अभावमा कतिपयले अस्पतालमै ज्यान गुमाइरहेका छन् । यो संकटको घडीमा कसैले निःशुल्क अक्सिजन उपलब्ध गराइदिन्छ भने त्यो जत्तिको ठूलो राहत सायदै अरू हुँदैन । तर तिनै अक्सिजनदातालाई प्रहरीले पक्रेर मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ । यो समाचार हो कोरोना संक्रमणबाट अति प्रभावित भारतको । भारत उत्तरप्रदेशको जैनपुरस्थित सरकारी अस्पताल बाहिर अक्सिजनबिना तड्पिरहेका बिरामीलाई निजी खर्चमा अक्सिजन दिने एक युवकलाई प्रहरी पक्रेर मुद्दा चलाएको हो । कतिपयले यसलाई राहतकर्मीलाई स्तब्ध बनाउने घटनाको रूपमा लिएका छन् ।

पक्राउ पर्ने युवक जैनपुर कोतवालीका विक्की अग्रहरी हुन् । उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा १८८ र २६९ अनुसार मुद्दा दर्ता गरिएको छ । यो मुद्दा जैनपुरका प्रमुख स्वास्थ्य अधिकारीको उजुरीको आधारमा गरिएको हो । विक्कीले भने अक्सिजन नपाएका बिरामीको पीडा देख्न नसकेर आफ्नै एम्बुलेन्समा रहेको अक्सिजन सिलिण्डर निकालेर बिरामीलाई दिएको बताउँछन् । बिरामीलाई सहयोग गर्नेलाई पक्रिएर मुद्दा चलाउँदा प्रशासनको छविमा नकारात्मक असर पर्दैन र भन्ने जिज्ञासामा प्रहरी अधिकारी बर्मा भन्छन्, ‘ती युवकले अस्पताल बाहिर बिरामीहरुलाई अक्सिजन दिएर भिडियो बनाइरहेका थिए । जबकि त्यो समयमा अस्पतालमा बेडहरू खाली थिए। ज–जसलाई अक्सिजन दिइएको थियो, ती सबैलाई अस्पतालमा भर्ना गरिएको थियो ।’

बर्मा भन्छन्, ‘हाम्रा अधिकारी र मेडिकल स्टाफहरु पनि आफ्नो ज्यान खतरामा राखेर काम गरिरहेका थिए । उनीहरुले मिडियामा स्थान पाउँदैनन् तर जब कुनै नकारात्मक खबर आउँछ, त्यसलाई उचालिन्छ । यसबाट अधिकारीहरुको मनोबल गिर्छ ।’ उनको दाबीअनुसार जैनपुरमा स्थिति धेरै हदसम्म नियन्त्रणमा छ । हाल अक्सिजन र बेडको अभाव छैन । ३४ वर्षीय विक्की पेसाले एम्बुलेन्स चालक हुन् । उनले भनेका छन्, ‘मेरो एम्बुलेन्समा दुईवटा अक्सिजन सिलिण्डर थिए । दुई साताअघि मैले श्रीमतीको सुन बेचेर चार अक्सिजन सिलिण्डर किनेको थिएँ । दुई सिलिण्डर मलाई दानमा प्राप्त भएको थियो । मैले हालसम्म एक सय जना बिरामीलाई अक्सिजन सहयोग गरिसकेको छु ।’ उनका अनुसार अक्सिजन अभावका बीच उनले प्रतिसिलिण्डर २० हजार (भारु) को दरले किनेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !