मुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको बताए ।
महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको महतले बताए ।
यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले छुट्टै विज्ञप्ति समेत निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको उनको भनाइ छ ।
‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ’, देउवाको विज्ञप्तिमा भनिएको छ ।