१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालगञ्ज मेडिकल कलेजमा दुई घण्टासम्म अक्सिजन नपाउँदा एक महिलाको प्रांगणमै मृत्यु



नेपालगन्ज : उपचारका लागि कोहलपुर मेडिकल कलेज अस्पताल पुगेकी बाँकेकी एक महिलाको दुई घण्टासम्म अक्सिजन नपाउँदा अस्पताल प्रांगणमै मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका–५ कि ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो । तर कलेज प्रशासनले गेटमा कोभिड–१९ का नयाँ बिरामी भर्ना स्थगन र कोभिडको शंकास्पद बिरामीलाई सेवा दिन असमर्थ रहेको सूचना टाँसेको थियो । उपचार पाउने झिनो आशामा आफन्तले उनलाई दुई घण्टासम्म अस्पताल प्रांगणमै राखे । बिरामी भर्ना गरिदिन आग्रह गरे ।

तर अस्पतालले भर्ना नलिएपछि आफन्तले अटोरिक्सामा राखेर बैजनाथपुर–५ मा स्थानीय तहले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पुर्‍याए । उनको त्यही मृत्यु भएको छ । अत्यन्तै गम्भीर अवस्थामा आइसोलेसन सेन्टरमा ल्याएका कारण बचाउन नसकिएको डा. चौधरी बताउँछन् । मृतक महिलाको पीसीआर रिपोर्ट भने आउन बाँकी छ । उनलाई भर्ना नलिएको नेपालगञ्ज मेडिकल कलेजको भने आफैं तर्क छ । डा. नितेश कनौडियाका अनुसार अस्पतालमा अहिले १३३ जना संक्रमित अक्सिजन सपोर्टमा उपचाररत छन् ।

अस्पतालको लिक्विड अक्सिजन प्लान्ट रित्तिन लागेको छ । भारतबाट लिक्विड अक्सिजन आउन नसकेकोले हाललाई नयाँ भर्ना स्थगन गर्न बाध्य भएको उनी बताउँछन् । अक्सिजन अभावले भारतको एक अस्पतालमा १४ जना संक्रमितले ज्यान गुमाउनु परेको घटनाले पनि थप सचेत गराएको उनले सुनाए । उनका अनुसार अहिले अस्पतालमा उपचाररत बिरामीलाई अक्सिजन पुर्‍याउनै हम्मेहम्मे परेको छ । बिरामीको चाप अनुसार हरेक ५ दिनमा एउटा लिक्विड अक्सिजन ट्यांक वा दैनिक ८०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने डा। कनौडियाको भनाइ छ । वैशाख १९ र २१ गते नै अक्सिजन अभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुरोध गरेपनि सुनुवाइ नभएको उनी बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !