१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपतको अनुमान



काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ । आईसीयू/भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ । एचडीयूमा वैशाख मसान्तसम्म ५ हजार ३ सय ३१, जेठ मसान्तसम्म ७ हजार ५३ र असार मसान्तसम्म ८ हजार ६ सय २८ जनालाई मेडिकल अक्सिजन आवश्यक पर्न सक्ने जनाइएको छ ।

त्यस्तै, वैशाख मसान्तसम्म ७ हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७५ र असार मसान्तसम्म १२ हजार ३ सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्नेछ । वैशाखमा ९७ करोड ७६ लाख ५६ हजार ७ सय ८१ लिटर, जेठमा १ अर्ब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर र असारमा १ अर्ब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर मेडिकल अक्सिजन खपत अनुपात छ । असारसम्म ५ लाख ६६ हजार ६ सय ६१ अक्सिजन सिलिन्डर खपत ९४६ लिटर साइज० खपत हुने अनुमान छ । यसैबीच, आईसीयू र भेन्टिलेटरका कोरोना संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ।

मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ । राजधानी दैनिकमा प्रकाशित समाचार अनुसार १० लिटर प्रतिमिनेटका दरले दैनिक १४ हजार लिटर अक्सिजन चाहिन्छ । त्यस्तै, अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । मेडिकल अक्सिजन आवश्यकता दर औंल्याउँदा १० बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दा प्रतिदिन १ लाख ४० हजार ४ सय लिटर अक्सिजन र २१ सिलिन्डर आवश्यक पर्छ । ५० बिरामीलाई एचडीयूमा उपचार गर्दा प्रतिदिन ५ लाख ९७ हजार ६ सय लिटर अक्सिजन र ८८ सिलिन्डर आवश्यक पर्छ ।

 


प्रतिक्रिया दिनुहोस !