१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चर्चित मेडिकल जर्नल ‘द ल्यासेन्ट’को सम्पादकीयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना



विश्वको सबैभन्दा चर्चित मेडिकल जर्नल ‘द ल्यासेन्ट’ले आफ्नो सम्पादकीयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको छ । सम्पादकीयमा अहिले मोदीको ध्यान ट्वीटरमा आफ्नो आलोचना दबाउनमा बढी र कोरोना महामारी नियन्त्रणमा कम देखिएको उल्लेख गरिएको छ ।

जर्नलले लेखेको छ, ‘यस्तो कठिन समयमा आफ्नो आलोचना र खुला चर्चालाई दबाउने मोदीको प्रयास माफीयोग्य छैन ।’ इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभ्याल्युएसनको अनुमानअनुसार भारतमा आगामी अगष्टसम्ममा कोरोना महामाारीको कारण मृत्यु हुनेको संख्या १० लाख पुग्नसक्ने रिपोर्टमा उल्लेख छ ।

जर्नलले भारत सरकारले लिएको फैसलाको नतिजा अहिले देखिएको बताएको छ । अहिले कोरोना महामारी तीव्र रुपमा फैलिरहेको अवस्थामा भारतले नयाँ ढंगले कदम चाल्नु आवश्यक रहेको रिपोर्टमा उल्लेख छ । सरकारले आफ्नो गल्ती मान्छ कि मान्दैन र मुलुकलाई पारदर्शिताको साथमा नेतृत्व दिन्छ कि दिंदैन भन्ने कुराले कोरोना महामारी नियन्त्रणमा भारत सफल हुने र नहुने निर्धारण हुने रिपोर्टमा उल्लेख छ ।

भारत सरकारले खोप अभियान तीव्र गतिमा अघि नबढाउँदासम्म कोरोना महामारी नियन्त्रणको लागि आवश्यक सबै कदम चाल्नुपर्ने रिपोर्टमा उल्लेख छ । यस्तोमा राष्ट्रव्यापी लकडाउनको सम्भावनाको विषयमा पनि चर्चा हुनु जरुरी रहेको रिपोर्टमा उल्लेख छ ।

जर्नलमा भारतको खोप अभियानलाई गति दिनु आवश्यक रहेको उल्लेख छ । साथै कोरोना खोप ग्रामीण भेगमा पनि पुर्‍याउनु जरुरी रहेको जनाइएको छ । भारतका ६५ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । जर्नलमा भारत सरकारले कोरोना संक्रमणको पहिलो लहरपछि दोस्रो लहर आउन सक्ने सम्भावनालाई बेवास्ता गरेको उल्लेख गरेको छ । जर्नलको सम्पादकीयमा चेतावनी दिंदा पनि सरकारले धार्मिक कार्यक्रम आयोजना गर्न दिएको र त्यसमा लाखौं मानिस जम्मा हुनुका साथै निर्वाचनको र्‍याली पनि भएको बताइएको छ ।

सरकारले खोप अभियानको नीति बीचमा आएर परिवर्तन गर्दा पर्याप्त खोपको अभाव देखिएको छ । ल्यान्सेट जर्नलमा भारतमा केही राज्यले अस्पतालको बेड र अक्सिजनको माग गरिरहेका मानिसमाथि राष्ट्रिय सुरक्षा कानूनको प्रयोग गरेको समेत उल्लेख गरिएको छ । –एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया दिनुहोस !