१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओली विश्वासको मतका लागि जसपाले सांसदहरुलाई ह्वीप नलगाउने, स्वविवेक प्रयोग गर्न पाउने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् । पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा थिए । तर कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत देखिएपछि महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने प्रस्ताव अघि सारेका थिए । आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !