१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोनाको दोस्रो लहर : ८७४ सुरक्षाकर्मी आइसोलेसनमा, जवानदेखि एआइजीसम्म कोरोनाको शिकार



काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहर चलेपछि सुरक्षा निकायमा पनि तीब्र रुपमा फैलिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा फेरी कोरोना संक्रमण फैलिएको हो । कोरोना संक्रमणले नेपाली सेनाका २२५ जना सुरक्षाकर्मी आइसोलेसनमा छन्, भने थप १३३ जना सैन्य कर्मचारी अस्पतालमा छन् । अरु चाहिँ सेनाले तयार गरेको आन्तरिक आइसोलेसन र होम आइसोलेसनमा बसेर कोरोनासँग लडिरहेका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बलका १६५ जनामा पनि कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएका २२ जनालाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा राखिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ । त्यस्तै गरी नेपाल प्रहरीमा ४८४ जना सुरक्षाकर्मी संक्रमण पुष्टि भएको छ । तर, प्रहरी कर्मचारीको मनोवल खस्किने भन्दै नेपाल प्रहरीले संक्रमितको विवरण सार्वजनिक गरेको छैन । प्रहरीमा जिल्लादेखि प्रधान कार्यालयसम्म कोरोना फैलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका गर्ने नेतृत्वदायी भुमिकामा रहेका गृह मन्त्रालय मातहतका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सम्म संक्रमणको शिकार भएका छन् । वैशाख ८ मा कोरोना पोजेटिभ देखिएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख (एआईजी) हरिबहादुर पालले कोरोनालाई जितेका छन् । होम आइसोलेसनमा बसेर कोरोनालाई जितेका पाल नियमित काममा फर्किएका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बागमती प्रदेशका १० जिल्लाका २९ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । काभ्रेका ९ जना, सिन्धुपाल्चोकका एसपीसहित ७ जना, मकवानपुरका ४ जना, रसुवाका ३ जना, चितवनका एसपीसहित ३ जना, धादिङका २ जना र नुवाकोटका एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा पहिलो चरणमा ३९१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने एकजना प्रहरीको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !