२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

अबका ३ हप्ता कोरोना संक्रमणको उच्च जोखिम हुने, डबल मास्क लगाउन सुझाव



काठमाडौं । जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले कोरोना संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहने बताएका छन् । कोभिड १९ को पहिलो लहरभन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा विरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा बताएका छन् । सञ्चारकर्मीसँग बुधबार कुराकानी गदै उनले दोश्रो लहरमा कोभिड १९ संक्रमणको फैलावट बढी भएको, कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमी हुने लक्षण देखिएकाले बढी सतर्क हुन जरुरी रहेको बताए ।

उनले भने, “त्यो बेला एउटै घरमा दुईवटा संक्रमित हुने र बाँकी संक्रमित नहुने परिस्थिति थियो । यो पटक एकजना संक्रमित भयो भने सबैजना संक्रमित हुने अवस्था छ । गत साल कोभिड निमोनिया एकदमै कमलाई भएको थियो । ९० प्रतिशत होम आइसोलेसनमा नै निको भएका थिए । यो पटक धेरैलाई कोभिड निमोनिया भएको छ । अक्सिजन चाहिने, अस्पतालको, डाक्टरको सहयोग चाहिने अवस्था छ । कोभिड निमोनियाका कारणले गर्दा अक्सिजनको माग एकदमै बढेको छ । अस्पतालका बेडहरु पनि भरिभराउ छन् । विभिन्न अस्पतालहरुले उपचार गर्न सक्तैनौँ भनेर बिरामीलाई डिस्चार्ज गरेको, बिरामीलाई नलिएको अवस्था छ । परीक्षणको हिसाबले हेर्ने हो भने ३५ प्रतिशतमा पोजेटिभ देखिएको छ । हाम्रो स्वास्थ्य संरचनाले धान्न नसक्ने हो कि भन्ने स्थिति देखापरेको छ । त्यो कारणले गर्दा यो ३ हप्ता चाहिं हाम्रा लागि निकै कठिनपूर्ण छ । गत साल भारतमा पिकमा पुगेको ३ हप्तामा हाम्रो पिकमा पुगेको थियो । यो तीन हप्ताभित्र हामी संक्रमित भयौं भने अस्पतालको बेड पाउन गाह्रो छ । अक्सिजन पाउन गाह्रो छ ।”

उनले दोश्रो लहरमा धेरै संक्रमितमा इण्डियन भेरियन्ट नै देखिएको तथा खुल्ला सिमानाका कारण भारतमा फैलिँदो संक्रमणकै गतिमा नेपालमा पनि संक्रमितहरु बढ्न सक्ने अवस्थालाई मनन गरी आगामी ३ हप्ता दुःख सहेरै भएपनि घरभित्रै बस्नुपर्ने अवस्था रहेको उनले बताए । उनले सही तरिकाले डबल मास्क लगाएर भौतिक दुरी कायम गर्न सकेमा संक्रमणको चेन तोडिने विश्वास समेत व्यक्त गरे । तर त्यसका लागि आम नागरिकमा आत्मानुशासन आवश्यक रहेको बताए । धेरै देशहरुमा नागरिकहरु अनुशासित भएर बसेकाले कोभिड नियन्त्रणमा सहज भएको भन्दै उनले त्यसतर्फ समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

जनस्वास्थ्यविद् डा.पाण्डेले कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडा निगरानी गर्नुको साथै अस्पतालहरूको क्षमता बृद्धि, अक्सिजनको सहज आपूर्ति र खोप आयातमा विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले खोपको दोश्रो डोज लगाएकाहरू संक्रमित भएपनि स्वास्थ्य अवस्था गम्भीर नभएकाले खोपको सुनिश्चितता गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले अस्पतालहरुले अक्सिजन लगायतको कारण देखाएर बिरामीलाई फर्काउने काम नगर्न र सकेको उपचार र परामर्श दिन आग्रह गरे । संक्रमितहरुले पनि छाती लगायतको प्रारम्भिक परीक्षण गरी सचेतता अपनाउन पनि आग्रह गरे । उनले महामारी समुद्रको छाल जस्तो भएको र उच्च विन्दुमा पुगेपछि क्रमैसँग तल झर्दै जाने भएकाले आगामी ३ हप्ता विशेष सचेत हुनुपर्नेमा जोड दिए । उनले अस्पताल, बिरामी र नकारात्मक समाचारमा भन्दा आत्मबल बलियो बनाई, योजनाबद्ध तरिकाले संक्रमित भइहाले के गर्ने भन्नेबारे पूर्व तयारीका स्वास्थ्यका मापदण्ड अपनाएर घरमै बस्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !