१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अविश्वासको प्रस्ताव ल्याएका देउवा र प्रचण्डको विजोग, ओली नै पुन: प्रधानमन्त्री बन्ने बलियो संभावना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल भएसँगै राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि ३ दिनको समय सीमा दिएकी थिईन् । तर अहिलेसम्म विपक्षीहरुले बहुमत जुटाउन सकेका छैनन् । ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका प्रचण्ड र देउवाले नयाँ सरकार गठनको कसरत गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउने कसरत गरिरहेको भए पनि जनता समाजवादी पार्टीले कांग्रेसलाई साथ नदिँदा सरकार गठन गर्न बहुमत जुट्न सकेको छैन ।

उता मधेसकेन्द्रित जनता समाजवादीका नेताहरू पनि आफ्नै दलको नेतृत्वका सरकार बनाउनेबारे कसरतमा जुटेका छन् । नयाँ सरकार बनाउन कांग्रेस र माओवादी नेताहरुले जनता समाजवादी पार्टीलाई मनाउन प्रयास पनि गर्दै आइरहेका छन् । तर, संस्थापन महन्थ ठाकुर पक्ष भने गठवन्धन सरकारको पक्षमा रहेको छैन । सो पक्ष आमचुनावमा जानुपर्छ भनिरहेको छ ।

आज बेलुकी ९ बजेसम्म विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न सके नयाँ सरकार गठन हुनेछ । तर, नसकेमा भने संसदमा रहेको सबैभन्दा धेरै सांसद भएको दलको नेतालाई संविधानको धारा ७६ (३) को व्यवस्था अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ । संसदमा अहिले कामचलाउ प्रधानमन्त्री ओली दलको नेता रहेको नेकपा एमाले नै ठूलो दल छ । विपक्षी दलहरूले बहुमत पुर्याउन नसके ठूलो दलको हैसियतमा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !