१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

माधव-खनाल समूहलाई ललिपप देखाउँदै ओली, आज बिहानै बालुवाटारमा स्थायी समिति बैठक



काठमाडौं : संसदमा विश्वासको मत नपाएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउने अन्तिम प्रयास गर्न स्थायी समिति बैठक बोलाएका छन् । असन्तुष्ट झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका छन् । सहज अवस्थामा पार्टीमा फरक मत राख्नेलाई भित्तामा पुर्याउने ओलीले आफ्नो संकट टार्न आफ्नो गल्तीलाई सच्याउने किक आउट गर्ने र आफु संकटमा परेको बेला सच्चिएको बाहानामा उपयोग गर्ने नीति अख्तियार गर्ने चतुर खेलाडीका रुपमा परिचित छन् ।

खनाल नेपाल पक्षका सांसदहरुले ओलीको बहिर्गमनका लागि राजीनामा दिने तयारी गरेपछि त्यसलाई रोक्न आज अन्तिम प्रयास गर्न ओली समूहले स्थायी समिति बैठक बोलाएको छ । बैठक बालुवाटारमा सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकको एजेन्डाबारे त्यही छलफल हुने भएपनि केही महत्वपुर्ण निर्णय हुनसक्ने अपेक्षा आफुले गरेको बताए । ‘एमालेको आन्तरिक जीवनमा केही महत्वपुर्ण निर्णय हुन्छ कि भन्ने मलाई लागेको छ’, नेम्वाङले भने । यसैबीच ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेल नेता नेपालसँग छलफल गर्न आज बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेर पौडेलले राजीनामा नदिन आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस !