१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

इजरायली प्रतिरक्षा प्रणाली आईरन डोम फेल, हमासले दाग्यो राजधानी तेलअबिबमै १५ सय बढी रकेट



काठमाडौं : पछिल्ला दुई दिनयता इजरायल र गाजाका आकाशका छिनछिनमै रकेटको ओहोरदोहोर भइरहेको छ। गाजामा रहेका विद्रोही समूह हमास र इस्लामिक जिहादले इजरायली शहर तेल अभिभको आसपासमा निशाना बनाएर अहिलेसम्म १५ सय बढी रकेट प्रहार गरिसकेका छन्। इजरायलले तीमध्ये अधिकांश रकेटलाई आकाशमै ध्वस्त पारेको बताएको छ, भने जवाफमा गाजामा हवाई आक्रमण गरेको छ। इजरायलको आक्रमणमा अहिलेसम्म हमासको कार्यालय रहेकोसहित तीन वटा ठूला भवन ध्वस्त भएका छन्। इजरायली सेनाले आफ्नो आक्रमणबाट हमासका ४ जना उच्च कमाण्डर मारिएको बताएको छ। अहिलेसम्म इजरायली हमलामा परी गाजामा ६९ जना मानिसको मृत्यु भएको र त्यसमध्ये १७ बालबालिका रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै कतारी समाचार संस्था अलजजीराले जनाएको छ ।

रकेट हानाहान नरोकिएपछि इजरायल र प्यालेस्टाइनबीच युद्ध हुने हो कि भनेर अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरेका छन्। हमासले इजरायली प्रतिरक्षा प्रणाली आईरन डोमलाई छक्याउँदै राजधानी तेलअबिबमै १५ सय बढी रकेट प्रहार गरेपछि अमेरिका लगायतका पश्चिमा शक्तिहरुमा छटपटी बढेको छ । विभिन्न मुलुकले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग टेलिफोनमा कुरा गरेका छन्। स्थिति छिटै सामान्य अवस्थामा फर्कने बाइडेनको विश्वास छ। तर उनले आफ्ना नागरिकको रक्षा गर्ने अधिकार इजरायलसँग रहेको बताएका छन्। दुई पक्षबीच युद्धविराम गराउन अमेरिकाले आफ्ना विशेष दूत पठाउन लागेको छ। इजिप्टलगायत अरू मुलुकले पनि युद्धविरामका लागि पहल थालेका छन्।

रकेट हानाहान जारी रहँदा इजरायलमा यहुदी र अरबी समुदायबीच पनि हिंसाका घटनाहरू हुन थालेका छन्। इजरायल र प्यालेस्टाइनीबीच पछिल्लो तनावको सुरूआत जेरूसेलम डे र शेख जराहमाबारे भएको थियो। सन् १९६७ मा अरब इजरायल युद्ध हुँदा इजरायलले पूर्वी जेरूसेलम आफूले लिएको सम्झनामा मनाइने जेरूसेलम डेमा हजारौं यहुदीहरूले मार्च गर्ने गर्छन्। तनाव कम गर्न प्रहरीले यसपालि मार्चको रूट परिवर्तन गरेको थियो। शेख जराहमा रहेका प्यालेस्टाइनीहरूलाई त्यहाँबाट निकालेर उनीहरूका घर यहुदीहरूलाई दिन मिल्छ कि मिल्दैन भन्नेबारेमा अदालतमा विचारधीन मुद्दाको फैसला सरेपछि प्यालेस्टाइनीहरूमा आक्रोश बढेको थियो। गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले सोमबार साँझ ६ बजेसम्म अल अक्सा मस्जिद र शेख जराहबाट इजरायली सैनिक फिर्ता गर्न अल्टिमेटम दिएको थियो। उक्त अल्टिमेटम सकिएको केही मिनेटमै हमासले इजरायलमाथि रकेट हानेको हो। त्यसपछि सुरू भएको रकेट हानाहान अहिलेसम्म रोकिएको छैन।


प्रतिक्रिया दिनुहोस !