२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

कोरोना महामारीमा लुटपाट : ओलीका विश्वास पात्र प्रसाईको अस्पतालमा भर्ना हुन २ लाख धरौटी



काठमाडौं : पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बनेका दुर्गा प्रसाईको झापाको बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले कोरोना महामारीमा लुटपाट मच्चाईरहेको पाईएको छ । कोरोना संक्रमित बिरामीलाई अस्पताल भर्ना अगावै अस्पतालले दुई लाख रुपैयाँ धरौटी राख्न लगाएर मात्र भर्ना लिएर उपचार गरिरहको छ । अस्पतालमा राखेको धरौटीबाहेक पनि औषधि लगायतका आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री जोहो गर्न दैनिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको कोरोना संक्रमितका आफन्तले बताएका छन् । त्यस्तै विराट टिचिङ हस्पिटलले पनि दैनिक भेन्टिलेटर चार्जमात्र २० हजार रुपैयाँ लिईरहेको छ । सो अस्पतालले एक लाख धरौटी राख्न लगाउने गरेको र अन्य विविध शीर्षकमा चर्को शुल्क लिँदै आएको कोरोना बिरामीका आपन्तहरु बताउँछन् ।

बिर्तामोडस्थित ओलीका विश्वास पात्र दुर्गा प्रसाईँको बिएण्डसी अस्पतालले कोरोना संक्रमितको उपचार अगावै २ लाख धरौटी राख्नुपर्ने प्रावधान बनाएको छ । अस्पतालका निर्देशक दुर्गा प्रसाई भन्छन्, कोभिड–१९ संक्रमित बिरामीका लागि अस्पतालले तोकेको न्यूनतम धरौटी शुल्क हो यो, क्षमता हुने र सक्नेले योभन्दा माथि जति राखे पनि हुन्छ । उनले कोभिडको समयमा यसरी सेवा दिनु नै ठुलो कुरा भएको बताए । सामाजिक विकास समितिले प्रदेशका कोभिड अस्पतालको अनुगमन तथा निरीक्षणका क्रममा विराट अस्पताल, झापाको बिएण्डसी अस्पतालमा संक्रमितको उपचार अगावै धरौटीको नाममा ठुलो रकम लिने गरेकाले बिरामीको आफन्त थप मानसिक पीडा ब्यहोर्न बाध्य पाइएको छ । संक्रमित बिरामी निको भएर घर फर्कदा कम्तीमा पनि उसले उपचार खर्चको नाममा न्यूनतम् ६ देखि १० लाख रुपैयाँ अस्पताललाई बुझाउनु पर्ने स्थिति रहेको छ ।

एकैदिन ५ देखि ५० हजार रुपैयाँसम्म असुली

१८ वैशाखदेखि सरकारले संक्रमितको उपचार खर्च बेहोर्ने निर्णय गरे पनि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ देखि ५० हजार रुपैयाँसम्म शुल्क लिँदै आएका छन् । विराट टिचिङमा जनरल बेडको प्रतिदिन ४ हजार ६२५ रुपैयाँ, आइसियुको १५ हजार र भेन्टिलेटरसहित आइसियुको ३० हजार रुपैयाँ लिने गरेको छ । झापाको बिएण्डसी अस्पतालमा भने जनरल बेडको प्रतिदिन ८ हजार, अक्सिजनसहितको बेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ४२ हजार रुपैयाँ शुल्क लिने गरेको छ । बिएण्डसीका निर्देशक प्रसाईले यो शुल्क काठमाडौंका अस्पतालभन्दा कम रहेको दाबी गरे । उनले अस्पतालमा उच्चतम प्रविधिका उपकरण प्रयोगमा रहेकाले पनि शुल्क तलमाथि पर्नु स्वाभाविक भएको बताए । आर्थिक अवस्था नाजुक भएका, असहाय र ज्येष्ठ नागरिकहरु भने उपचार पाउने अधिकारबाट बञ्चित हुने अवस्था आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !