१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

महाबिर पुन : कोरोना महामारीमा सरकारभन्दा विस्वासिलो नाम



काठमाडौं- कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै महावीर पुनको व्यस्तता उधुमै बढेको छ । मानव संकटको यो घडीमा सिङ्गो देशलाई आपतकालीन स्वास्थ सामग्री उपलब्ध गराउने जिम्मा उनको मात्र काँधमा छ जस्तो प्रतित हुन्छ । यो कुरा उनकै दौडधुप र चटारोले बताउँछ ।घण्टा घण्टामा उनी सामाजिक सञ्जालमा पाेस्ट गरिरहेका छन् । कहिले अक्सिजन एनालाइजर त कहिले अक्सिजन रेगुलेटरको फ्लोमिटर कतै छ भने उपलब्ध गराइदिन गुहार माग्छन् ।

कहिले खाली सिलिण्डर भर्न उपत्यकाबाहिर पठाउनलाई सहजीकरणको अपिल गर्छन् । सामाजिक सञ्जालमा पहरेदार जसरी हरेक सहयोग र सहजीकरणका लागि कयौं स्टेटसहरु उनले पोस्टाइसके । तर त्यही फेसबुकको म्यासेन्जमा आएका म्यासेजहरु हेर्न उनलाई फुर्सद छैन । लेख्छन्, ‘मलाई मोबाइल/भाइबर/ह्वाट्सएपमा ९८४१५९२३६१ मा मात्र सम्पर्क गर्नुहोला । म्यासेन्जरकाे म्यासेज हेर्न पाएको छैन ।’

महामारीको दोस्रो लहर सुरु भएसँगै भारतमा मानिसहरु अक्सिजनको कमीले सोत्तर भएको दृश्य देखियो । नागरिक स्तरबाट सचेत बन्दा बन्दै सरकारको ढिलासुस्ती र अकर्मण्यताले भारतको दशा नेपालमा पनि सुरु भएको छ । जनसंख्याकाे अनुपातको हिसाबले त नेपालमा अवस्था अझ भयावह भएको विज्ञहरु बताउँछन् । यस्तो अवस्थामा अक्सिजन अभाव हुन नदिन महावीर पुनहरू हरदम लागिपरेका छन् ।

उनी र उनले नेतृत्व गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरहरु अहिले ‘मिनी अक्सिजन प्लान्ट’ निर्माण तथा परीक्षणको काममा लागिरहेका छन् । कोभिडको पहिलो लहर सुरु भएपछि गत वर्ष २०२० को मार्च २४ देखि सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो । त्यसलगत्तै आविष्कार केन्द्रलाई वीर अस्पताल, शिक्षण अस्पताल, विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पाटन अस्पताल सबैले फोन गरी महामारी रोक्न नयाँ प्रविधि तथा आविष्कारको सहयोग माग्न थाले ।

त्यस बेलादेखि नै महावीर पुन र उनको राष्ट्रिय आविष्कार केन्द्रले धेरै नै महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ ।

सहकार्य र सहयोगको अपिल 

पुन कोरोना अभियानमा जोडीन तथा सहकार्य गर्न चाहाने जोकोहीलाई पनि केन्द्रले न्यानाे स्वागत गर्ने बताउँछन् । उनी ह्वाट्सएप भाइबर तथा फोनबाट 9841592361 मा जोडिन सक्ने तथा mahabir@nicnepal.org मा ईमेल पठाउन सक्ने बताउँछन् ।

अहिले केन्द्रले पीपीई, कोरोना बुथ, एरोजोल बक्सजस्ता सामग्री निःशुल्क वितरण गरिरहेको छ । यदि यो वितरणमा सहयोग गर्न गर्ने कोही मन छन् भने जोडिन पुनको अपिल छ । – टेकपानाबाट 


प्रतिक्रिया दिनुहोस !