१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधानमन्त्री ओलीको चेतावनी- बादललाई भोट नहाले क्षम्य हुँदैन



प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई भोट नहाले क्षम्य नहुने चेतावनी दिएका छन् ।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्न बु्धबार अपिल जारी गर्दै प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट नहाले क्षम्य हुन नसक्ने चेतावनी दिएका हुन् ।

‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ ओलीले चेतावनी दिँदै भनेका छन्, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्।’

उनले पार्टीभित्र देखा परेका समस्या समाधानका लागि पार्टीलाई एकताबद्ध बनाउन कार्यदलले काम गरिरहेकाले एकतालाई सुदृढ गर्नु सबैको कर्तव्य भएको पनि बताएका छन् ।

‘निर्वाचनमा हाम्रो एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्‍याउने छ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्वार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,’ उनले भनेका छन् ।

ओलीले २३ फागुन २०७७ मा एमाले पुनःस्थापना भएपछि हुन लागेको निर्वाचनले विशेष महत्वको भएको पनि बताएका छन् ।

‘निर्वाचनले हाम्रो पार्टीको सामथ्र्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ । सँगसँगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ,’ उनको अपिलमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !