५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथि अमेरिकाको दबाब



अमेरिकाले हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ । महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्रीमाथि दबाब बढाएको हो ।

इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट हुन सक्ने चुनौतिमा आत्मरक्षाको अधिकार रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आक्रमण कम गर्न भनेका हुन् ।

बाइडेनको चाहना युद्धविरामका लागि मार्ग प्रशस्त होस् भन्ने रहेको र त्यसका लागि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई आक्रमण ठूलो स्तरमा कम गर्न भनेको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकाले इजारायल–प्यालेस्टाइनबिच जारी हिंसाको विरोध गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले जारी गर्न खोजेको संयुक्त वक्तव्य रोकेको थियो । यस्तो वक्तव्यले पर्दा पछाडि युद्धविरामका लागि भइरहेको प्रयास भाँडिन सक्ने अमेरिकाको भनाई छ ।

तर बालबालिका, महिला तथा वृद्धवृद्धासहितको ज्यान जोन क्रम बढ्दै गएपछि अमेरिकाले आफ्नो साझेदार राष्ट्र इजरायमाथि दबाब बढाएको हो ।

बाइडेनले हिंसा कम गर्न भने पनि इजारयली प्रधानमन्त्री नेतन्याहूले भने जारी रहने बताएका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता नभएसम्म आक्रमण जारी रहने नेतन्याहूले बताएका छन् ।

मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ ।

इजरायलले भने मारिने मध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ । तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्यांक दिएको छैन ।

इजरायल तर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ ।

गाजा तर्फबाट रकेट तथा इजरायलले हवाई आक्रमण गर्दै आएको छ । इजरायली आक्रमणका कारण पहिले नै नाजुक अवस्थामा रहेको गाजाको अवस्था थप भयावह बनेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहायता संगठनले चिन्ता व्यक्त गरेका छन् ।

तस्बिरहरु : एएफपी र रोयटर्स


प्रतिक्रिया दिनुहोस !