१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मन्त्रीकै सेटिङमा चार्टर फ्लाइटमा ब्रम्हलुट ! दमामको एकतर्फी भाडा १ लाख ८२ हजार असुल



काठमाडौं : कोरोना महामारीका कारण नियमित उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत श्रम गन्तव्यदेखि विभिन्न देशमा पुग्ने यात्रुमाथि ब्रम्हलुट मच्चाइएको प्रमाण खुलेका छन्। संस्कृति, नागरिक उड्डयन मन्त्रालयका उच्च तहका अधिकारी, राजनीतिक पहुँच र एयरलाइन्सका विभिन्न अधिकारीसँगको मिलेमतोमा ब्रम्हलुट मच्चाइएको विवरण फेला परेको हो। काठमाडौंमा वेटिङमा रहेका २ हजार भारतीय नागरिकलाई पनि मारमा पारेपछि नेपालस्थित भारतीय दूतावासले हवाई भाडामा ब्रम्हलुट मच्चाएको भन्दै पर्यटन मन्त्रालयलाई लेखेको थियो ।

बालुवाटारको आशिर्वाद पाएका एयरलाइन्स कम्पनीदेखि पर्यटनमन्त्री भानुभक्त ढकालसँग जोडिएका व्यक्ति, सचिव यादव कोइरालालगायत सँगको सेटिङमा काठमाडौंबाट साउदी अरबको दमाम र रियाददेखि अमेरिकालगायतका मुलुकका लागि जाने यात्रुमाथि पनि ४ देखि ५ गुणा बढी एकतर्फी भाडा असुल गरिएका विवरण सतहमा आएका छन्। बोन ट्राभल्सका रमेश पौडेल र सम्राट ट्राभल्सका सीएन पाण्डेले हिमालयन एयरलाइन्सको विमान चार्टड गरी प्रतिब्यक्ति १ लाख ८२ हजार रुपैयाँसम्म असुली गरेका छन्। उनीहरूको सेटिङ पर्यटन मन्त्रालयसम्म रहेको बताइएको छ। साउदी अरबको दमामका लागि नियमित उडानमा प्रतिब्यक्ति न्यूनतम २७ हजारदेखि अधिकतम ४० हजार रुपैयाँ मात्र भाडा रहेको छ । बोन र सम्राटका संचालक पौडेल र पाण्डेले पर्यटन सचिव कोइरालासँग सेटिङ मिलाएर साउदी अरबको दमामका लागि चार्टड अनुमति लिएका हुन्। यसका लागि मन्त्री ढकालले पनि सहयोग गरेको बताइन्छ।

यसबाहेकका सेटिङ पनि डरलाग्दो छ। चार्टर सेटिङमा कतार एयरलाइन्स र टर्किस एयरको पनि प्रयोग गरिएको स्रोतको दाबी छ। त्यसअनुसार कतार एयरलाइन्सका सेल्स म्यानेजर सरिक बोगटीले प्रेसिडेन्ट ट्राभलको भोला थापासँगको सेटिङमा एक्लौटी चार्टर गरेका छन्। कतार एयरलाइन्सले दोहा हुँदै युरोपका विभिन्न मुलुकमा यात्रु लैजाने गरेको छ। यस्तै, काठमाडौंदेखि युरोपका विभिन्न मुलुकमा चार्टर फ्लाइटमार्फत यात्रु लैजानका लागि टर्किस एयरलाइन्स सेल्स म्यानेजर म्यागी बनर्जीले मेगाबाइट ट्राभलको चित्रा गुरुङ र सिलिंकका राजु ढकालसँगको मिलोमतोमा एक्लौटी चार्टर गरेको खुलेको छ।


प्रतिक्रिया दिनुहोस !