५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

राष्ट्रियसभा सदस्य उपनिर्वाचन मतदान शुरु (फोटो फिचर)



राममणि दाहाल
हेटौँडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान शुरु भएको छ । हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा अहिले शुरु भएको मतदान ३ बजेसम्म मतदान हुने भएको छ ।
निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझनै सर्वाजनिक हुने भएको छ । निर्वाचन अधिकृत श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

उपनिर्वाचनमा कोभिड १९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रसहित तीन वटा मतदान केन्द्र व्यवस्था गरिएको छ । यसअघि ७२ घण्टा अवधिको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुपर्ने अनिवार्य गरेकोमा मतदाताको पीसीआर परीक्षण नभए पनि मतदानमा सहभागी गराउने सहमति भएको छ ।

मतदान स्थलमा यसअघि प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि केन्द्र (ख) र कोभिड १९ सङ्क्रमित प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्न मतदान केन्द्र (ग) गरी तीन वटा मतदान केन्द्र तोकिएको थियो ।

निर्वाचनको गोप्यता सुनिश्चित गरिने भन्दै मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान नदिने सहमति भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हालसम्म १३ जना मतदातामा कोरोना सङ्क्रमण भएको जानकारी आएको बताउँदै त्यो सङ्ख्या बढ्नसक्ने बताउनुभयो ।

उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

उपनिर्वाचनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहनु भएको छ । हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य १०९ जना रहनु भएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतादाता रहने छन् ।

– गोरखापत्रअनलाईनबाट साभार 


प्रतिक्रिया दिनुहोस !