१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राष्ट्रपतिको भूमिका प्रधानमन्त्रीको कारिन्दाजस्तो, महाअभियोग लगाए हटाऔँ



काठमाडौं । नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको भूमिका नागरिकको अभिभावक हुनुपर्ने र संविधान रक्षाका लागि उभिनुपर्नेमा त्यसो नगरी प्रधानमन्त्रीको कारिन्दाजस्तो भूमिका देखिएकोले महाअभियोगबाट हटाउनुपर्ने तरूण दलको माग छ ।

राष्ट्रपति भण्डारीलाई महाअभियोग प्रस्ताव गरेर हटाउँदै मुलुकलाई संकटबाट मुक्त गरिनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गरौं’ जारी विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले समय तोक्नु गलत भएको तरूण दलले बताएको छ। ‘संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरि घात भएको छ । यो संविधान विरुद्धको अपराध हो। देश र जनता कोरोना महामारीसँग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानविय र संविधानको मर्म विपरीतका गतिविधि जालसाजीपूर्ण हुन्,’ अध्यक्ष बस्नेतले निकालेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !