४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आपतकालिन कोभिड-१९ योजना जारी



काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आपतकालीन कोभिड-१९ योजना जारी गरेका छन् । साथै राष्ट्रसंघले आर्थिक रुपमा कमजोर व्यक्ति र समुदायका लागि अन्तराष्ट्रिय सहयोगको लागि समेत आह्वान गरिएको छ । महामारीबाट प्रभावित सबैभन्दा प्रभावित समुदायका ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउनका लागि एउटा आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न ८ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरेका छन् ।

नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पुर्‍याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको यस योजनालाई नेपाल मानवीय सहायता सम्बन्धी समूह र नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको राष्ट्रसंघ कार्यालयले जनाएको छ ।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले भनेकी छन्, ‘अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभइ सबै क्षेत्रहरुमाथि विनाशकारी प्रभाव पारिरहेको छ, र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेका छन् ।’

‘आज हामीले जारी गरेको कोभिड–१९ प्रतिकार्य योजनाले आज, भोलि र आउँदा केही कठिन हप्ताहरुमा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय एक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्न सक्दैनौं ।’ उनले भनेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !