१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कोरोना संक्रमितको चाप घट्दै सुदूरपश्चिमका अस्पतालहरुमा



कैलाली- इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर राखिएका संक्रमित । सर्जिकल वार्ड समेत कोरोना संक्रमितले भरिभराउ । आँगनमै टेन्ट गाडेर तयार पारिएका सबै ८ वटा शय्या पनि भरिएका । केही दिन अघिसम्म धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा यही दृष्य देखिन्थ्यो ।

तर तपाई हिजोआज त्यहाँ जानुभयो भने भिन्नै अवस्था देख्न सकिन्छ । संक्रमितको उपचारका लागि आँगनमा गाडिएको टेन्ट हटाइएको छ । इमरजेन्सी वार्डमा उपचार गर्न आउने र भर्ना भएका संक्रमितको चाप कम भएको छ । कुनै दिन एउटै बेडमा दुई जनासम्म गरेर १६ शय्याको वार्डमा ४०-४५ जनाको व्यवस्थापन गर्नुपर्ने झन्झटबाट अस्पतालले मुक्ति पाएको छ । प्रादेशिक अस्पतालकाअनुसार अहिले कोभिड अस्थायी अस्पताल, इमरजेन्सी वार्ड र सर्जिकल वार्डमा ८२ जना संक्रमित उपचाररत छन् । उनीहरु मध्ये इमरजेन्सी वार्डमा १५ जना, सर्जिकल वार्डमा २० जना, आईसीयूमा १५ जना र कोभिड अस्थायी अस्पतालमा ३२ जनाको उपचार भइरहेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो एक साताको अवधिमा दैनिक औसतमा ८-१० जना संक्रमित डिस्चार्ज भइरहदा सोही हाराहारीमा भर्ना भएपनि गम्भीर संक्रमितको संख्या कम भएको उनी बताउँछन् । ‘अस्पतालबाट डिस्चार्ज हुने र भर्ना हुनेको संख्या करिब करिब उस्ता उस्तै रहेको छ,’ श्रेष्ठले भने, ‘तर जटिल खालको स्वास्थ्य समस्या भएको र अक्सिजनको धेरै आवश्यकता पर्ने संक्रमितको संख्या तुलनात्मक रुपमा कम भएका कारण हामीलाई पनि व्यवस्थापनमा सहज भएको छ ।’

अस्पतालमा संक्रमित कम भएसँगै अक्सिजनको माग घट्दा आपूर्तिमा पनि सहज भएको हो । त्यसैमा हाल अस्पतालमा ३५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएकाले पनि खासै समस्या नरहेको श्रेष्ठ बताउँछन् ।

महाकाली अस्पतालमा पनि घटे

सेती प्रादेशिक अस्पतालपछि व्यवस्थापकीय समस्या व्यहोरिरहेको कञ्चनपुरको महाकाली अस्पतालमा पनि पछिल्लो समय कोरोना संक्रमितको चाप कम भएको छ । दुई साता अघि उपचारका लागि पुग्ने संक्रमितको संख्या अहिले ५० प्रतिशतले कम भएको अस्पतालले जनाएको छ । जसमा गम्भीर संक्रमितको संख्या समेत कम भएका कारण अस्पतालले उपचारमा पहिले जस्तो समस्या भोग्नुपरेको छैन ।

‘हामी कहाँ उपचारका लागि आउने संक्रमितको संख्या झन्डै ५० प्रतिशतले कम भएको छ,’ महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले भने, ‘यसलाई सुखद पक्ष मान्नुपर्छ । सँगसँगै अर्को कुरा के छ भने विगतमा दैनिक २८-३० जना भर्ना हुन आउँथे । उनीहरु मध्ये ८० प्रतिशत केस गम्भीर खालका हुन्थे । तर अहिले १०-१५ जना आइरहेकोमा गम्भीर केस २ प्रतिशत मात्र छ ।’

प्राकृतिक रुपमा कोरोना भाइरस पनि कमजोर हुँदै गएको, मानिसहरुमा समयमै लापरवाही गर्नुहुँदैन भन्ने चेतना बढेको र स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण थप संक्रमण फैलिन नपाउँदा संक्रमण दर कम हुँदै गएको डाक्टर रोकायाले बताए ।


प्रतिक्रिया दिनुहोस !