११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती सम्बन्धन दिए आमरण अनसन थाल्ने डा. केसीको चेतावनी



काठमाडौं । अनसन बसेर चर्चामा आएका डा. गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । यमनको मरिबबाट प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको आरोप लगाउँदै सम्बन्ध दिए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् । त्यस्तै उनले आपराधिक आर्जनको लागि लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन् । आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रूपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको डा. केसीको आरोप छ । साथै उनले प्रधानमन्त्री ओली संरक्षित मेडिकल ‘माफियाका नाइके’द्वारा आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की नागरिकमाथि हुने राज्य आतंकको नमुना बताएका छन् ।

सोमबार बिहान प्रितम सुवेदीले आफूमाथि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले भौतिक आक्रमणको चेतावनी दिएका थिए । डा.केसीद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन ।’

चिकित्सा शिक्षा नियमावली २०७७ का अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने स्मरण गराउँदै डा. केसीले बी एण्ड सी मेडिकल कलेजले २०७३ सालयता आसयपत्र नवीकरण नगरेको दावी गरे । त्रिवि र केयु दुवैले यस अगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजहरूलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनले स्मरण गराए । यस्तो अवस्थामा प्रधानमन्त्रीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको उनको भनाई छ । प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध भएको उनको ठहर छ ।

 


प्रतिक्रिया दिनुहोस !