पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम सुरु भएको छ।
नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. १ देखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो।
परियोजना प्रमुख ईन्जिनियर गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्ने छ। एक किलोमिटर दुई सय मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन्। एउटा गोन्डोलामा आठ जना अट्छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार आउँदो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। उनको भनाइमा केवलकार सम्पन्न गर्न रु. एक अर्ब ५० करोड लगानी हुने छ। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो। नेपाल सरकारको प्रचलित नियम अनुसार सो जग्गा वापतको सोधभर्नासमेत गरेर काम अगाडि बढाइएको ढकालले जानकारी दिए।
गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यहाँको पर्यटन प्रवद्र्धनमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले यो जिल्लाकै गौरवको आयोजना हुने बताए। उनले एक वर्षपछि यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार विगतका वर्षहरुको तथ्यांक हेर्दा वार्षिक यहाँ दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन्।
उनले भने, ‘देशैभरिबाट दर्शनार्थी आउछन्। केवलकार बनेपछि यो सङ्ख्या अझै बढ्नेछ।’
मन्दिर क्षेत्रमा कालिकाको मुख्य मन्दिर रहेको छ। उत्तरतर्फ भैरव मन्दिर, पश्चिममा होमनकुण्ड र चर्तुमुखी शिवालय रहेको छ। मन्दिर क्षेत्रमा १२५ जना अट्ने सभाहल, ३० जना क्षमताको धर्मशाला रहेको छ। सो ठाउँमा १७५ जनासम्म खान बस्नको व्यवस्था छ।
मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यहाँ तीर्थालुहरु आउने गर्दछन्।