१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

राहतमा राजनीतिकरण : उपमहानगरपालिकाले बाँडेकाे चामलको बोराभित्र एमालेको चिठ्ठी



इटहरी । इटहरी उपमहानगरपालिकाले वितरण गरेको राहतमा व्यापक राजनीतिकरण भएको पाइएको छ । उपमहानगरपालिकाले मंगलबार इटहरी ३ स्थित सुनौलो टोलमा एक सय १२ घर परिवारलाई राहतस्वरुप चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको थियो । तर, उपमहानगरपालिकाले वितरण गरेको राहत भनिएपनि चामलको बोराभित्र नेकपा एमालेको चिठ्ठी भेटिएपछि हंगामा भएको छ ।

इटहरी वडा नं. ३ का वडाध्यक्ष बालकृष्ट विष्टका अनुसार उपमहानगरपालिकाले वितरण गरेको राहतमा व्यापक राजनीतिकरण भएको हो । उनले भने, ‘राहत वितरणका लागि बोलाइएकाले म पनि सहभागी भएको थिएँ, उपमहानगरपालिकाले वितरण गर्ने भनेको राहतमा एमालेको चिठ्ठी भेट्टायौँ ।’ उनका अनसार चिठ्ठी भेटिएपछि विवाद समेत भएको थियो ।

चिठ्ठीमा भनिएको छ ‘कोभिड १९ को दोस्रो लहरको संक्रमणबाट त्यस टोलबासीहरु पनि संक्रमित भएको खबर सुन्दा हाम्रो पार्टी नेकपा एमाले इटहरी उपमहानगर कमिटि अत्यन्तै दःखी छ ।’ एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाको हस्ताक्षरमा जारी चिठ्ठीमा पहिलो चरणको राहत स्वीकार गर्नका लागि भन्दै सम्बोधन गरिएको छ ।

यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने एमालेले उपमहानगरपालिकालाई उपलब्ध गराएको राहत सामग्री सुनौलो टोलमा वितरण गरिएको प्रतिक्रिया दिईन् । नगरपालिकालाई राहत दिइसकेपछि नगरपालिकाको हुन्छ कि पार्टीको भन्ने प्रश्नमा गौतमले राजधानीसँग भनिन्, ‘नगरपालिकालाई दिइसकेपछि नगरपालिकाको नै हुन्छ, हामीले नगरपालिकाकै ट्याक्टरमा लगेर पनि वितरण गर्यौँ, पार्टीको चिठ्ठी रहेको थाहै भएन ।’

दुई दिन अघि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सबै स्थानीय तहमा एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने र अन्य मानिस वा संस्थालाई राहतको नाममा कुनै रकम र जिन्सी सामाग्री नलिन निर्णय गरेको थियो । ‘एकद्धार भनेकै कारण हामीले घरमै गएर राहत सामाग्री दिएका हौँ, त्यो पत्र हालेको मलाई पनि थाहा भएन,’ गौतमले आफू पन्छिने काम गर्दै अगाडि भनिन्,‘मेयर साबलाई सोधेर एमालेका साथीहरुले प्याक गरेका रहेछन्, तर एकद्धार प्रणाली भएपछि हामीले बाँडेका थियौँ ।’

अहिले इटहरीकी उपमेयर गौतमले एकलौटी हिसाबमा काम गर्दै आएको गुनासो छ । इटहरी कांग्रेसका नगरसभापति हेमकर्ण पौडेलले भने यसबेला जनता बचाउने अभियानमा सबै एक हुनुपर्ने भएपनि राजनीतिकरण गर्नु अत्यन्त निन्दनीय रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय