११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

जसपा सरकारमा जाने भएसँगै मन्त्री बन्ने आकाङ्क्षी थपिँदै



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने कुरा चलिरहँदा अहिले जसपामा मन्त्री बन्नका लागि दौडधूप शुरु भएको छ । जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् भने वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएको छ । प्रतिनिधिसभा सदस्य नरहेका नेता पनि मन्त्री बन्न पाउने भएपछि थप दौडधूप शुरु भएको हो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई कति वटा मन्त्रालय दिने भन्ने कुरा तय नभइसकेको जसपाको केन्द्रीय सदस्य सन्तोष मेहताले बताउनुभएको छ । यता प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराइले पनि यस विषय आधिकारिक निर्णय नभइसकेको जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य मेहताकाअनुसार अहिले सबैको नाममा दाउ छ । शीर्षनेता बाहेक अन्य वरिष्ठ नेता पनि मन्त्रीका आकाङ्क्षी देखिएको उहाँले बताउनुभयो । शीर्ष नेताहरुमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डाारी, अनिलकुमार झा, राजकिशोर यादवको नाम चर्चामा रहेको मेहताले बताउनुभयो ।

‘राजेन्द्र महतो संसदीय दलको नेता हुनुहुन्छ । सरकार, सत्ता र बाँकी विषयका बारे अध्यक्ष ठाकुर र महतोले निर्णय लिनुहुन्छ । यस विषयमा उहाँबीच छलफल भइरहेको छ,’ केन्द्रीय सदस्य मेहताले भन्नुभयो । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर भने आफैँ सरकारमा नजाने हुनुभएको छ ।

‘संसदीय दलको नेता हुनुभएका कारण सरकारको नेतृत्व महतोले गर्नुहुन्छ ,’ उहाँले भन्नुभयो, ‘यी विषयमा निर्णय हुन बाँकी छ ।’ यद्यपि अध्यक्ष ठाकुरको तर्फबाट मन्त्रीको आकाङ्क्षीमा वृषेशचन्द लाल, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरीलगायतका नेता दौडमा छन् ।

अध्यक्ष ठाकुरका तर्फबाट मन्त्रीको आकाङ्क्षी हुनुभएका वृषेशचन्द लाललले भन्नुभयो, पार्टीले जे निर्णय गर्छ त्यही हिसाबले अगाडि बढ्ने बताउनुभयो । ‘यस विषयमा पार्टीभित्र छलफल भइरहेको छ, उहाँले भन्नुभयो, ‘पार्टीले जे निर्णय गर्छ त्यही निर्णयलाई आत्मसात् गरेर अगाडि बढ्छु ।’

यसैगरी जसपाकी नेत्री चन्दा चौधरीले आफू मन्त्रीका लागि आकाङ्क्षी रहेको बताउनुभयो । जसपा सरकारमा सहभागी हुने कुरा चलिरहँदा मन्त्री बन्नका लागि दौडधूप शुरु भएको छ । यसमा तपाईको नाम पनि चर्चामा छ नि ? भन्ने जिज्ञासामा जसपा नेत्री चौधरीले मन्त्रीका लागि आफू आकाङ्क्षी रहेको बताउनुभयो ।

‘नाम चर्चामा छ । तर, पार्टीले यस विषयमा निर्णय लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, अहिले कुन मन्त्री लिने भन्ने विषयमा भने निर्णय भइसकेको छैन । यो छलफलमै छ ।’ चन्दा चौधरी जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षबाट महन्थ ठाकुर पक्षमा आएका महिला नेत्री हुन् ।


प्रतिक्रिया दिनुहोस !