१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कुन शक्तिले मिलाई दियो नदीका दुई किनार ओली र महतोलाई ?



काठमाडौं : नेपालको राजनीतिमा सधैं विपरीत धुव्र रहेका केपी शर्मा ओली र राजेन्द्र महतोको अहिले गज्जबको सहकार्य भएको छ । ओलीसँग करिब ३ दशक बढी सँगै एउटै पार्टीमा राजनीति गरेका माधव नेपालले ओलीको साथ छाडि सकेका छन् । कुनै समय ओलीको राष्ट्रवादी छवी थियो भने महतो सधैं भारतपरस्तका रुपमा चिनिन्छन् । यही कारण दुई नेताको सम्बन्ध पनि राम्रो हुन सकेन । तर, राजनीतिमा सधै नदीका दुई किनार रहेका ओली र महतोको गजबको दोस्ती देखिएको छ । सरकार गठनको रस्साकसी चल्ने बेला सधै लैनचौर धाउने महतो कुनै समयका चर्को राष्ट्रवादीको उपमा पाएका ओलीको मन्त्रिपरिषद्मा महतो गृहमन्त्रीका लागि लबिङ गरिरहेका छन् । ओली र महतोलाई भारतले नै मिलाएको चर्चा राजनीतिक वृत्तमा छ ।

कुनै समय यस्तो थियो कि ओलीले नै महतोको नागरिकताको छानबिनको माग गरेका थिए । उनका निकट युवा संघका तत्कालिन अध्यक्ष राजीव पहारीले महतोको नागरिकतोका छानबिन माग गरी २०७२ सालमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतसँग निवेदन दिएका थिए । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकोमा आयोगले छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, दबाबका कारण विस्तृत छानबिन हुन पाएन ।

भारतबाट नेपालमा आएका महतोले सर्लाही जिल्लाबाट नागरिकता लिएका छन् । बुबा खोभारी सुडी भारतीय नागरिक थिए । सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् । महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान–चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थालेका थिए । महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महतो र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् ।

गृह स्रोतका अनुसार राजेन्द्र महतोले ०२७/०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो । छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ ।

महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो । पटक पटक मन्त्री भएका महतोको राजनीतिक सफलतामा भारतको भूमिका रहेको बताइन्छ । भारतको इच्छाअनुसार काम गर्ने भएकाले उनले राजनीतिमा सफलता पाउँदै आएका छन् । भारतबाट नेपाल आउने गाडीलाई सरकारले कर बढाउँदा उनले संसदमा त्यसविरुद्ध अर्थात् भारतीय नागरिकको पक्षमा बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !