१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतालाई आतंकित पार्‍यो : नेपाली कांग्रेस



काठमाडौँ- प्रमुख पतिपक्षी दल कांग्रेसले सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाएको आरोप लगाएको छ ।बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसले कोरोना नियन्त्रण र रोकथामभन्दा पनि जनतामा भए उत्पन्न गराएको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

पछिल्लो समय सरकारले उपत्यकामा खाद्यान्न पसल पनि बन्द गराएर सर्वसाधारणमा झन समस्या उत्पन्न गराएको सहमहामन्त्री महतको भनाइ छ । ‘दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको छ,’ महतले भने । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले जेठ १४ देखि २१ सम्म उपत्यकामा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेका छन् ।

सानोतिनो व्यवसाय गरेर जीवन चलाउने र श्रमिकहरुलाई जीविकोपार्जनका लागि नै संकट उत्पन्न भएका बेला सरकारले राहतको व्यवस्था नगरेको पनि कांग्रेसको आरोप छ । ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्धि गर्ने काममा सरकार लागेको छ,’ महतले भने । यसअघि कोरोना रोकथाम र नियन्त्रणका लागि पार्टीले सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेको महतले बताए । अझै पनि गाउँगाउँका कोरोना संक्रमितलाई अक्सिजन आपूर्ति र उपचारमा सरकारले ध्यान नदिएको उनको भनाइ थियो ।

त्यस्तै प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध राजनीतिक र कानुनी लडाइँ जारी रहने पनि महतले बताए । कोरोना महामारीका बीचमा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्ने अवस्था नभए पनि विभिन्न माध्यमबाट आफूहरुले आवाज उठाउने उनले बताए । ‘संक्रमणका बेलामा सडकमा उत्रिने अवस्था छैन । तर पनि हामी सञ्चारमाध्यम, सामाजिक सञ्जालको प्रयो गर्दै, नागरिक समाजलाई परिचालन गर्ने, अरु दलहरुसँग पनि समन्वय स्थापित गर्ने त्यसबाट राष्ट्रपति र सरकारको कदमविरुद्ध निरन्तर आवाज उठाउने काम गर्छौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !