७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मतदाता लक्षित कार्यक्रम बजेटमा नराख्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह



काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न आग्रह गरेका छन् । बिहीबार पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनीहरुले २०७८ साल कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा त्यसमा समेटिने कार्यक्रमले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित नबनाउने गरी ल्याउनु पर्नेमा जोड दिएका छन् ।

‘निर्वाचनको लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ‘यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमा नै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

यिनै ५ पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले यसअघि पुष ५ को संसद विघटनमा पनि विरोध गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !