
हिमालयन रिले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स पाएको छ । बीमा समितिका अनुसार हिमालयनले लाइसेन्स पाएको हो । पाँच कम्पनीको प्रतिष्पर्धामा अन्यलाई उछिन्दै हिमालयनले बाजी मारेको हो । समितिले तोकेको मापदण्डहरुमा सबै भन्दा धेरै अंक ल्याएर हिमालयनले लाइसेन्स पाएको बीमा समिति जनाएको छ ।
यो कम्पनीमा दिपक भट्टको अगुवाई थियो भने नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका, भवानी राणा लगायतको लगानी थियो । यसै कम्पनीमा सुलभ अग्रवालको पनि लगानी छ ।
नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै ५ वटा कम्पनीले आवेदन दिएका थिए । तीमध्ये चार वटा कम्पनी त्यस अघि नै लाइसेन्स माग्दै समितिको ढोका ढकढक्याउन पुगेका थिए । पुराना आवेदन रद्द गर्दै बीमा समितिले नयाँ आवेदन मागेको थियो । जस अनुसार अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि, काठमाडौं रिले पुनः आवेदन दिए । हिमालयन रि भने अकस्मात आवेदन दिन पुगेको थियो ।