७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भेरी–बबई- दाेस्राे चरणकाे काम सुस्त



नेपालगंज । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम निर्धारित अवधिमै सकिने दावी गरिएको छ । कोभिड—१९ को असरले केही अवरोध भए पनि निर्माणको कामलाई तीव्रता दिइएपछि निर्धारित अवधिमै सकिने गरी काम भइरहेको छ । पहिलो चरणको सुरुङ खन्ने काम निर्धारित अवधिभन्दा एक वर्ष अगाडि नै सकिए पनि दोस्रो चरणको काम अन्य संरचना निर्माणको काम भने केही सुस्त छ । पूर्व निर्धारित समय अनुसार आर्थिक वर्ष २०७९/८० मा आयोजना सम्पन्न भइसक्नुपर्नेछ ।

आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर ईश्वरीप्रसाद तिवारीले जटिल र मुख्य कामहरु सम्पन्न भइसकेकाले तोकिएको अवधिभित्र आयोजनाको काम सकिने दावी गर्नुहुन्छ । उहाँले सुरुङ निर्माण जस्तो जटिल काम सम्पन्न भइसकेको हुँदा अवको अवधिमा बाँकी काम निर्माण जारी रहेकोले तोकिएको अवधिभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न

आयोजनाले तोकिएको अवधिभित्र निर्माण सम्पन्न गर्ने दावी गरे पनि काम पुरा हुन निकै चुनौती छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । अझैँ ५५ प्रतिशत काम बाँकी छ । दुई वर्षको अवधिमा ५५ प्रतिशत काम सक्न निकै चुनौती छ । तर आयोजनाले तोकिएको अवधिभित्रै सक्ने गरी कामलाई तीव्रता दिइएको इन्जिनियर तिवारीले बताउनुभयो ।

दोस्रो चरणको काम सुस्त

आयोजनाको दोस्रो चरणको काम सुस्त गतिमा छ । कोभिड—१९ को मुख्य समस्याले दोस्रो चरणको काममा ढिलाइ भएको हो । पहिलो चरणको सुरुङ खन्ने काम तीव्र गतिमा हुँदा तोकिएको भन्दा एक वर्ष अगाडि नै सम्पन्न भएको थियो । दोस्रो चरण अन्तर्गतको काम अहिलेसम्म २५ प्रतिशत मात्रै सम्पन्न भएको आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा बाँध, विद्युत गृह निर्माण लगायतको काम हुनेछ । दोस्रो चरणमा निकै महत्वपूर्ण मानिएको विद्युत् गृह निर्माणको काम झनै सुस्त छ । बाँधको काम पनि सोचे अनुसारको गतिमा हुन सकेको छैन । भेरी नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ । बाँध र विद्युत् गृह निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएको छ ।

मजदुर र निर्माण सामाग्री अभाव

आयोजना निर्माणमा काम गर्ने मजदुर र फलामे छडको अभाव भएको छ । कोरोना बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले मजदुर र छडको अभाव भएको हो । कोरोना अघि आयोजनामा एक सय भन्दाबढी मजदुरहरु कार्यरत थिए । तर कोरोना संक्रमण फैलिएपछि त्यसको आधा मजदुरमात्रै कार्यरत छन् । आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर ईश्वरीप्रसाद तिवारीले मजदुरहरु स्थानीय भएकोले कोरोनाको त्रासले आउन नमानेको बताउनुभयो । उहाँका अनुसार अहिले करिव ६० जना मजदुर कार्यरत छन् ।

यस्तै, निर्माण सामग्रीको पनि अभाव भएको छ । निषेधाज्ञाका कारण छड र सिमेन्टको अभाव भएको आयोजनाले जनाएको छ । आयोजनाले प्रयोग हुने छडहरु कम्पनीमै अर्डर दिनुपर्ने भएकाले निषेधाज्ञामा बन्द हुँदा काम प्रभावित भएको इन्जिनियर तिवारीले बताउनुभयो ।

सुर्खेतको भेरीगंगा नगरपालिका—९ चिप्लेस्थित भेरी नदीको पानी भेरीगंगा–१ कै हात्तीखाल बबईमा १४ किमी सुरुङमार्फत खसाली विद्युत र सिंचाई सुविधा पु¥याइने छ । आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र ४८ मेगावाट विजुली उत्पादन गर्ने योजना छ । आयोजना सम्पन्न गर्न कुल ३३ अर्ब १९ करोड लाग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !