१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

रोजगारी सङ्कट अझ लम्बिने आईएलओ प्रक्षेपण



कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने प्रक्षेपण सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।

आईएलओले कोरोनाका कारण विश्वभर धेरै उद्योग–व्यवसायमा नराम्रो असर परेको र ती उद्योग पहिलो अवस्थामा फर्किन समय लाग्ने हुँदा रोजगारी सङ्कट अझै लामो समय जाने प्रक्षेपण गरेको छ । आईएलओका अनुसार विश्वमा महामारीका कारण लाखौँ मानिसको जागिर गएको र नयाँ रोजगारीका अवसर सिर्जना हुने अवस्था बन्न सकेको छैन । यस वर्ष महामारीका कारण रोजगारी गुमाउनेको सङ्ख्या करिब सात करोड ५० लाख पुगेको छ । यो सङ्ख्या अझै बढ्ने देखिएको छ ।

आईएलओको प्रक्षेपणमा रोजगारीको सङ्कट श्रमिक निर्यात गर्ने मुलुकलाई बढी पर्ने उल्लेख गरिएको छ । आईएलओका निर्देशक गाय राइडले विज्ञप्तिमार्फत भन्नुभएको छ, “हाम्रो प्रक्षेपणमा २०२२ सम्म पूरै विश्वमा बेरोजगारीको आँकडा २० करोड ५० लाखसम्म पुग्छ । जब कि महामारी सुरु हुनुभन्दा पहिले यसको तुलना गर्ने हो भने २०१९ मा यो आँकडा १८ करोड सात लाख थियो । ”

विज्ञप्तिका अनुसार बेरोजगारीको समस्या बढ्ने निश्चित छ तर सबै देशको स्थिति समान भने हुन सक्दैन । धनी देश यससँग जुध्न सक्ने भए पनि गरिब देशमा असमानताका कारण महिला र युवाको रोजगारीमा ठूलो सङ्कट पर्ने देखिन्छ । संयुक्त राष्ट्र सङ्घले कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !