
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ धितोपत्र दलाललाई प्रवेश गराउने बताएका छन् । उनले बजारको आकार बढ्दै गएकाले धितोपत्र दलाललाई प्रवेश गराउन ब्रोकर लाइसेन्स प्राथमिकतामा रहेको बताएका छन् ।
अध्यक्ष ढुंगानाले सेयर कारोबार व्यवस्थापन प्रणालीलाई अझ बढी प्रभावकारी बनाउने र ऋणपत्रलाई थप गतिशील बनाउन नयाँ धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने तयारी भएको स्पष्ट पारेका छन् । सेयर बजारलाई गाउँगाउँसम्म पुर्याउन बैंकहरुले ब्रोकर लाइसेन्स माग गरिरहेका छन् ।
हालसम्म बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिन आनकानी गरिरहेका बेला अध्यक्ष ढुंगानाले बजारलाई थप प्रतिस्पर्धी बनाउन ब्रोकर लाइसेन्स खुलाउने स्पष्टपारेका हुन् । धितोपत्र बोर्ड २९ औं वर्षमा प्रवेश गरेको अवसरमा जनाएको प्रतिवद्धतामा उनले बढ्दो बजारले गर्दा थप ब्रोकर आवश्यक भएको उल्लेख गरेका छन् ।
पछिल्लो समय दोस्रो बजारमा सेयर कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको र बोर्डले चालेका कदमहरुबाट सेयर बजारमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढ्दै गएको, डिम्याट र मेरो सेयर खातामा खोल्नेको संख्या उल्लेख्य बढेको र प्राथमिक निष्कासन (आईपीओ) भर्नेको संख्या बढेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।
उनका अनुसार आईपीओमा १८ लाख लगानीकर्ताले खरिदका लागि आवेदन दिएका छन । आईपीओ भर्नेको संख्या बढ्दै गएको बोर्डले जानकारी गराएको छ । चालु आर्थिक वर्षको १० महिनामा ७८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन भएको उनले जानकारी गराए । यो रकम २८ वर्षमा सबैभन्दा उच्च हो ।