१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

कठै ! ‘पुराना जुत्ता’ भन्दा कमजोर मन्त्रीहरू !



‘सत्ता उन्माद’ कस्तो हुन्छ भन्ने घटना महाभारतमा गज्जबसँग देख्न पाइन्छ । धृतराष्ट्रले आफ्ना सयभाइ छोराहरू क्रमशः युद्धमा हार्दै छन् र मारिँदै छन् भन्ने थाहा पाउँदापाउँदै समेत दुर्योधनलाई युद्धबाट पछि हट्न राजाज्ञा दिन सकेनन् । किनकि उनी पुत्रमोहका कारण निरीह थिए । दम्भी दुर्योधन उनको आदेश मान्नेवाला थिएन ।

यो प्रसङ्ग नेपालको वर्तमान झुर सत्ता राजनीतिसँग जोडिएको छ । विचारको दाउन भएको राजनीति चाहिँ नेपालमा धेरैअघि सकिएको हो । काङ्ग्रेसमा बिपीको र एमालेमा मदन भण्डारीको विचार भजाएर राजनीतिक पद डम्फ्याउने लठुवाहरूकै कारण मुलुक अधोगतितर्फ लागेको हो । पुराना नेतालाई नयाँ पुस्ताले बालजति पनि महत्व दिएका छैनन् ।

यतिखेर प्रधानमन्त्रीको पद बचाउनका लागि भारतीय प्रम मोदीसँगको साँठगाँठ, भारतीय खुफिया एजेन्सी ‘रअ’सँगको सेटिङ, नागरिकता अध्यादेशको ठोकठाक, संसद विघटनको तानतुन शक्ति र कानुन मिच्ने डनगिरी कार्यपालिकामा बाक्लै देखिन थालेका छन् ।

कामचलाउ हैसियतमा खुम्चिएका प्रम केपी ओलीले आज समेत १८औं पटक मन्त्रिमण्डल पुनर्गठन गरे । सात वटा मन्त्रालयमा आठ जना मन्त्री, जसमा एक राज्यमन्त्री समेत नियुक्ति गर्दै ओलीले आफ्नाे विगत तीन वर्षको शासनकालमा जम्मा ६७ जना मन्त्रीहरूको ‘जुलुस’को नेतृत्व गर्न भ्याइसके भने रक्षामन्त्रीको पद कसैलाई नदिई आफैँ राखेका छन् ।

नियुक्ति पाएका आठ मन्त्रीमध्ये उद्योगमन्त्री राजकिशोर यादव जसपा कोटाबाट र कृषिमन्त्री ज्वालाकुमारी शाह २ नम्बर प्रदेशमा एमाओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद हुन् । एमाले प्रवेशसँगै उनको सांसद पद गएको थियो । प्रचण्डले पद खोसेकी उनलाई ओलीले कृषिमन्त्रीको पुरस्कार दिएका छन् ।

गत जेठ २१ गते पुनर्गठन भएको मन्त्रिमण्डलमा जनता समाजवादीका १० जना मन्त्री बनाएका ओलीले सोहीबेला तीन जना उपप्रधानमन्त्री समेत बनाउन भ्याए ।

एमाले माधव–खनाल समूहसँग एकातिर परिणाम नआउने नौटङ्कीमय वार्ता र अर्कातिर जसपाका महन्थ–राजेन्द्र समूहसँग सत्ताको सौदा गर्दै विघठित संसदको चौथो फुच्चे दललाई काखी चेपेर मन्त्रिमण्डलमा सानदार सामेल गराएपछि ओलीको चर्को विरोध सुरू भयो ।

शपथ लिनासाथ उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले बोलेका ‘बहुल राष्ट्रिय राज्य’ को अभिव्यक्तिले महतोलाई मात्र एकाएक विवादमा तानेन, ओलीलाई समेत देशव्यापीरुपमा पुत्ला दहनको विषय बनायो । जसले गर्दा एमालेका सकल कार्यकर्ताको बोल्ती बन्द भएको देखियो ।

आजको मन्त्रिमण्डल पुनर्गठन गर्दा उनले नियुक्त गरेका धेरै मन्त्रीको नामसमेत सुनिएको थिएन । आफ्नो प्रचार आफैँ गर्न लगाउने एमालेकै महेश बस्नेतको चर्चा मन्त्री बन्ने लहरको शिखरमा थियो । तर उनलाई ओलीले मन नपराउँदा गृहमा यिनेगिनेकै नेता खगराज अधिकारीले बाजी मारे भने निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी नैनकला थापालाई बादलको ‘दल अदलु बदलुको लिगेसीका सम्मानार्थ’ सञ्चारमन्त्रीमा नियुक्त गरियो ।

ओलीले खगराज अधिकारी गृहमन्त्री नियुक्त गरे । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरूमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक थिए । नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएर देव गुरुङलाई सचेतक बनाइयो ।

रघुवीर महासेठ–जुली महतो र रामबहादुर थापा ‘बादल’–नैनकला थापा दम्पती यस्ता जोडी हुन् जो आलोपालो मन्त्रिपरिषद्मा मन्त्री भएका छन् । सांसद नरहेका तत्कालीन गृहमन्त्री बादल सर्वोच्चको आदेशपछि पदमुक्त भएपछि थापाको सट्टामा ओलीले बादल पत्नी नैनकलालाई सञ्चार मन्त्री बनाए ।

उता सर्वोच्चले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेजीमा परेको थियो ।

गत पुसदेखि प्रधानमन्त्री केपीको पक्षमा खुलेरै लागेका बादललाई ओलीले यसअघि राष्ट्रियसभा सदस्य बनाउन खोजेका थिए । तर बागमती प्रदेशसभामा भएको राष्ट्रियसभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गुमेको थियो ।

माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप थुम्थुम्याउनकै लागि ओलीले बादलपत्नी नैनकलालाई मन्त्री बनाएका हुन् ।

मन्त्री थापा पछिल्लो समय राजनीतिमा निष्क्रिय थिइन् । २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भइनन् । माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार थापा २०५२ सालमा भूमिगत भएकी थिइन् ।

‘नेताहरूमा सांस्कृतिक विचलन नआओस् भनेर नेतापत्नी पनि भूमिगत हुनैपर्ने पार्टीको नीति थियो । नैनकलाको जनयुद्धमा योगदान थिएन भन्दा अन्याय हुन्छ । तर उहाँभन्दा धेरै क्षमतावान् व्यक्तिहरू मन्त्री बन्न योग्य थिए । रघुवीरका श्रीमान्–श्रीमती आलोपालो मन्त्री भएजस्तै होला बादलजीको पनि’– नाम नखोल्ने शर्तमा एकजना एमाओवादी नेताको भनाइ थियो ।

माओवादी युद्धमा हुँदा थापा महिला सङ्घकी केन्द्रीय अध्यक्ष थिइन् । उनी पार्टीको कार्यकारिणी कमिटीमा एकपटक पनि पुगिनन् । उनी केन्द्रीय सल्लाहकार समितिको सदस्य थिइन् ।

केही समय शिक्षण पेसामा रहेकी थापा २०६४ पछि महिला आयोगको अध्यक्ष भइन् । रमाइलो कुरा– ओलीले ‘ग्रिन सिग्नल’ दिएकै कारण मन्त्रीबाट पदमुक्त भए पनि बादलले पुल्चोकस्थित मन्त्री क्वार्टर भने छाडेका थिएनन् ।

२०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री भए । २० महिना मन्त्रीको जिम्मेवारी सम्हालेका उनी २०७७ पुस १० गतेको मन्त्रिमण्डल हेरफेरमा बाहिरिए । ५ पुसमा प्रम ओलीले एकलौटीरूपमा संसद विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधव–प्रचण्ड पक्षका मन्त्रीहरूले राजीनामा दिए ।

त्यसपछि दहाल–नेपाल समूहमा आएकी जुली महतो मन्त्री हुने भएपछि मात्र ओली समूहमा फर्किइन् । महतोलाई ओलीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद्मा ल्याए ।

पति रघुवीरको गत २१ गते बढुवासहित परराष्ट्रमन्त्रीमा सानदार ‘इन्ट्री’ भएपछि जुली बाहिरिइन् । परराष्ट्रमन्त्रीमा ‘सम्बन्धित क्षेत्रको अनुभवहीन’ मन्त्री नियुक्त गरिएको भनी पूर्वपरराष्ट्र सचिवहरूले सार्वजनिक गुनासो गरिसकेका छन्, जसलाई मन्त्री समेतले स्वीकारेका छन् ।

यद्यपि उनी रुससँग ‘स्पुतनिक’ नामक कोरोनाको खोप खरिदमा ‘कामयाब’ हुन सक्छन् भनी मन्त्रीमा ल्याइएको दाबी स्रोतको छ ।

बङ्गलादेशमा डाक्टरी पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर सुम्पिनुपर्ने बाध्यता रहेको भनेर विवादास्पद टिप्पणी गरेपछि राजीनामा दिएका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ पुनः स्वास्थ्यमन्त्रीका रूपमा सरकारमा फर्काइए ।

तामाङकी श्रीमती उषाकला राई प्रदेश १ मा सामाजिक विकासमन्त्री छिन् । स्वास्थ्य मन्त्रालयमा तामाङको नियुक्तिसँगै गएको १८ महिनामा तीन जना स्वास्थ्यमन्त्री फेरिए, जसले स्वास्थ्यको पोलिसी निर्माण र खोप खरिदमा विलम्ब हुने जानकारहरू बताउँछन् ।

गृहमन्त्री खगराज अधिकारी ओलीका पक्षमा विगत्मा संसदमा विपक्षमाथि खरो ढङ्गले प्रश्न उठाउँथे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले एकपटक असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ नम्बर वडा कमिटीमा राख्न व्यङ्ग्यात्मक रूपमै माग गरे ।

तर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गृहमन्त्रीको जिम्मेवारी पाए । रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरू मन्त्री बन्ने सम्भावना एकाएक टर्‍यो ।

जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र ‘बाहुबली सांसद’ भनेर चिनिने महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी सहजै मन्त्री बने ।

ओलीले एमालेबाट नारदमुनि रानालाई वनमन्त्री बनाए । कैलाली–५ मा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाव प्रधानमन्त्रीमाथि थियो ।

सिन्धुलीका गणेश पहाडी सामान्य प्रशासनमन्त्री बने । एमाले नेपाल समूहमा अझ योगेश भट्टराई निकट मानिएका उनले पछिल्लोपटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन्, फलस्वरूप उनी पुरस्कार पाउनेमा परेका हुन् ।

एमालेले मुगुका मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी बिनाविभागीय मन्त्री बनाएको छ । उनको मन्त्री बन्ने छुद्दे थियो भनेर ओली गुटमा जोकसमेत हुन्थ्यो ।

माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री भइन् । प्रदेश २ प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् ।

यस्तै जसपाका महन्थ पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बने । जसपाको ठाकुर पक्ष २१ जेठमा आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गयो । राजकिशोर यादवसमेत गरी अब जसपाका ११ मन्त्री भएका छन् ।

वन राज्यमन्त्री बन्ने चिठ्ठा एमालेकी आशा विकलाई पनि परेको छ, अतः उनी बेहद् खुसी छिन् ।

एमाले ओली समूहका नेता महेश बस्नेतले आफ्नै साथीहरूका कारण मन्त्री बन्न नपाएको खुलासा गरेका छन् । उनले भनेका छन्– ‘मेरा सहयोद्धा कमरेडहरू मन्त्री बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा व्यापक लाग्नुहुन्छ । मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’

बस्नेतले गृहमन्त्री पाउने चर्चा चले पनि खगराज अधिकारीले सो पद उछिट्याएका छन् । बस्नेतले कतिपय मिडियाले आफ्नो नाम जोडेर अर्को गुटमा लाग्न लागेको समाचार लेखेकाप्रति आक्रोशसमेत व्यक्त गरे । उनले आफू जहाँ छु त्यहीँ रहेर राजनीति गर्ने स्पष्ट पारेका छन् ।

सरकारले पछिल्लोपटक ल्याएको विवादास्पद नागरिकता विधेयकबारेमा जनस्तरबाटै व्यापक विरोध भएपछि वकिलहरूले सर्वोच्चमा रिट हालेका थिए । सोबारेमा अदालतले आजै नागरिकता वितरणका कार्यहरू अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

अदालतको यो कार्यले ओलीको अवैधानिक कदममा ठेस लागेको बताइन्छ ।

त्यसैगरी, बजेट ल्याउँदा व्यापार घाटा घटाउने भनी चुरे दहन गर्दै भारततर्फ गिटी, ढुङ्गा निकासी गर्ने कार्यको जनस्तरबाटै चरम विवादका घेरामा पुग्दा प्रदेश २ सरकारले आफ्नो नीति तथा कार्यक्रम जारी गर्दा बिहीबार नै चुरे संरक्षणका कार्यहरू ल्याएर केन्द्रीय सरकारलाई नीतिगत रुपमै टक्कर दिएको छ ।

रमाइलो कुरा त गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत नपाउँदा उनको मुख्यमन्त्री पद नै चैट भयो । वृहत् विपक्षी गठबन्धनले योसमेत तीन ठाउँमा विजय प्राप्त गरिसकेकाले भविष्यमा अझ दह्रो भई अघि बढ्ने सम्भावना देखिन्छ । तर त्यसको छिनोफानो अदालतले गर्ने संसद पुनस्र्थापनाको फैसलाबाट स्पष्ट हुने छ ।

तिसको दशकका चर्चित गद्यकवि विनोद अश्रुमालीले जुत्ता र ‘मन्त्रिमण्डल’ का बारेमा एउटा कविता लेखेका छन् । उनको सदावहार कविताले यसो भन्छ–

‘मन्त्रिमण्डल गठन भएकै दिन
किनेको एक जोर जुत्ता
मेरा खुट्टामा अझै घिस्रिरहेछन्
हिजो बेलुकी फेरि
मन्त्रिमण्डल पुनर्गठन भएछ
कठै ! मेरो देशका मन्त्रीहरूको आयु त 
मेरो पुरानो जुत्ताभन्दा पनि कम पो रहेछ ।’


प्रतिक्रिया दिनुहोस !