१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

यस्तो हुनेछ निषेधाज्ञाको खुकुलो ढाँचा



काठमाडौं : निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । विद्यालय विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा गोष्ठी सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल जारी रहेको र यसबारे छिट्टै त्यसको मोडालिटी ल्याइने तयारी गरिएको छ । अहिले अत्यावश्यक सेवा र प्रशासनको अनुमतिबाहेकका क्षेत्र सबै बन्द छन् । राजधानी काठमाडौंमै खाद्यवस्तु किनमेलमा समेत बिहान ९ बजेको समयसीमा छ । सबै किसिमका आर्थिक क्षेत्र करिब डेढ महिनादेखि बन्द छन् ।

गृह मन्त्रालयले देशभरका प्रशासनमा निषेधाज्ञाको विकल्प र आर्थिक गतिविधि विस्तारै सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना बनाएर पेस गर्न यसअघि नै परिपत्र गरिसकेको छ । ‘वर्षायाम पनि सुरु भइसकेको छ, खेतीपातीको समय भएकाले त्यससँग सम्बन्धित आवागमनलाई सहजीकरण गर्ने, निर्माणजन्य सामग्री ओसारपसार गर्न दिइने, खाद्यवस्तु किनबेचमा लगाइएको समय बढाउनेलगायत आर्थिक गतिविधिलाई क्रमश चलायमान गर्दै लैजाने विषयमा छलफल भइरहेको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउँछन् । सीसीएमसी बैठकमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य मन्त्रालयबाट पनि निषेधाज्ञाबारे सुझाव पेस भएको र त्यसबाट सामूहिक ठोस निष्कर्ष निकालेर कार्यान्वयनमा लैजाने तयारी छ ।

 


प्रतिक्रिया दिनुहोस !