१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतले सडक निर्माण गर्दा दार्चुलाका ११० परिवार पहिरोको जोखिममा



काठमाडौं । भारतले बम विस्फोट गरी सडक निर्माण गर्दा सुदूरपश्चिमको दार्चुलामा ४ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । धारचुला–लिपुलेक सडक विस्तारको क्रममा खसेको पहिरोले महाकाली नदीमा थुनिएर नेपालतर्फ कटान हुँदा गाउँपालिकाको दुम्लिङ, तल्लो दुम्लिङ, चौरा र बिजगाउँ जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

व्याँस गाउँपालिका वडा नं २ का वडाध्यक्ष धिरन बुढाथोकी भारतले सडक विस्तार गरेकै कारण नेपालतर्फको ती बस्तीहरु जोखिममा परेको बताउँछन् । उनका अनुसार पारिको बाटो बिस्तारका कारण नेपाल तर्फको ११० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् भने २१०० परिवार प्रभावित भएका छन् ।

गाउँपालिका प्रमुख दिलीप बुढाथोकीले वडा नं २ को सो क्षेत्र जोखिममा रहेको भन्दै महाकालीमा तटबन्ध निर्माणका लागि तारजालीको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बुढाथोकीले ४ गाउँ जोखिममा रहेको भन्दै त्यसको सुरक्षाको प्रबन्ध मिलाउन माग गरेका हुन् ।

गत साता धारचुला–लिपुलेक सडकखण्ड विस्तारका लागि पहाडमा भारतीय भूभागमा गरेको सडक विस्तारकै कारण नेपालतर्फको बाटोमा क्षति पुगेको थियो । बाटो विस्तारको क्रममा उछिट्टिएर आएको चट्टानले नेपालतर्फको बाटो अवरुद्ध पा¥यो । वडाध्यक्ष बुढाथोकीले दिएको जानकारी अनुसार पारिको चट्टान उछिट्टिएर दुम्लिङ–कुञ्जुङ गाउँ जोड्ने सडकमा बज्रिएको थियो । जसका कारण उक्त बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका वडा नं २ र भारतको धारचुला सीमा जोडिएको क्षेत्र हो । भारतले हाल धारचुला– लिपुलेक सडकखण्ड विस्तार गरिरहेको छ । सो क्रममा दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने बाटो पूर्ण रुपमा क्षति भएको छ । २० मिनेटमा पुगिने बाटो क्षति भएपछि अहिले ३ घण्टा हिँडेर अर्कै बाटोबाट जानुपरेको व्यास गाउँपालिका– २ का अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सो क्षतिको विवरणसहित दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले धारचुला जिल्लाका डिस्ट्रिक मेजिस्ट्रेट आनन्द स्वरुपलाई पत्र लेखेर नेपालतर्फ क्षति नहुने गरी सडक विस्तार गर्न आग्रह गरेका छन् । तर एक साता पुग्नै लाग्दा पनि यो क्षेत्रमा भारतीय पक्षले निर्माण रोकेको छैन । भारतबाट पत्रको जवाफ पनि नआएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।- अनलाइनखबरबाट साभार


प्रतिक्रिया दिनुहोस !