१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उपत्यकामा अझै १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण दर निरन्तर घट्दै गए पनि अब फेरि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको छ ।

यसबीच काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइने भएको हो ।

उपत्यकामा कोरोना संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जाने भन्दै आफुहरु सजग रहेको प्रजिअ पराजुलीको भनाई छ । ‘‘त्यसैले पनि निषेधाज्ञा हटाइहाल्न मिल्दैन । चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो।’

प्रजिअ पराजुलीका अनुसार अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको छ । अहिले नै यति दिन निषेधाज्ञा थप हुन्छ भनेर भन्न सकिने अवस्था छैन । सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । अब समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिने कि भन्नेबारे छलफल भइरहेको प्रजिअ पराजुलीले बताए ।

हाल खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको तयारी छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाभोलि (आइतबार) यसबारे छलफल गरिने बताए । प्रजिअ निरौलाले अब केही क्षेत्रमा खुकुलो गरी एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको बताएका छन् ।

सीसीएमसीको गएको बुधबारको बैठकमा निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय भएको थियो । यसबारे पनि छलफल भइरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

व्यवसायीले दिए लकडाउन सहज बनाउनेबारे सुझाव

नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महासंघका अध्यक्षबीच गत शुक्रबार निषेधाज्ञा खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको हो ।

छलफलमा ७ असारपछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीहरुको भनाई छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार कसरी सहज बनाउन सकिन्छ भनेर लिखित रुपमै सुझाव मागेपछि सुझाव दिएको हो ।

महासंघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न राय दिएको छ । मल तथा सपिङ सेन्टरहरुहरुमा एउटा मात्रै प्रवेशद्वार प्रयोग गर्ने, प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम प्रयोग गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने सुझावमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !