१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मंगलबारदेखि टुटल र पठाओ पनि सञ्चालनमा आउने, तयारी गर्न राइडरहरुलाई म्यासेज



काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले मंगलबारदेखि निषेधाज्ञालाई खुकुलो पार्दै आर्थिक गतिविधि चलाएमान बनाउने भएसँगै राइड सेयरिङ कम्पनीहरु पनि सञ्चालनमा आउने भएका छन ।आइतबार तीनै जिल्लाको सिडिओहरुको बैठकले जोर÷बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिने भएपछि भोलिदेखि टुटल, पठाओ लगाएतका कम्पनीले सेवा सुरु गर्ने भएका हुँन ।

राइड सेयरिङ् कम्पनी जस्तै गत हप्तादेखि काठमाडौं उपत्यकामा होम डेलिभरी सेवापनि सञ्चालन भइरहेका छन् ।

अर्कोतर्फ आइतबारको निर्णय अनुसार काठमाडौंमा बढीमा तीन जना राखेर ट्याक्सी पनि सञ्चालन गर्न पाउने भएका छन् ।

राइड सेयरिङ कम्पनी पठाओका कन्ट्री डाइरेक्टर आसिममान सिंह बस्न्यातले मंगलबारदेखि आंशिक सेवा सञ्चालन हुने जानकारी दिए ।

‘प्रशासनले ट्याक्सीलाई सञ्चालन अनुमति दिने तर, राइड सेयरिङ कम्पनीलाई रोक्ने हुन सक्दैन’ बस्न्यातले भने ‘ ट्याक्सी भन्दा सुरक्षित तबरबाट सेवा दिन्छौं’ ।

सरकारले तत्कालै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात समेत सञ्चालन अनुमति दिइसकेको छैन । जसको कारण यस्तो सेवाले यात्रुलाई राहत दिने बताइएको छ ।

उनका अनुसार सार्वजनिक यातायातको विकल्पमा यात्रुहरुलाई आवतजावत गर्न राइड सेयरिङ कम्पनी नै प्रभावकारी हुने बस्न्यातको भनाई छ ।

सार्वजनिक यातायात सञ्चालन नभएको अवस्थामा ट्याक्सी मार्फत यात्रु यात्रा गर्ने अवस्था नरहेका कारण पनि उपत्यकामा टुटल पठाओ सञ्चालन गनुैपर्ने व्यवसायीहरुले बताएका छन् ।

टुटलका संस्थापक शिक्षित भट्टले भोलिदेखि टुटलको सबै सेवा पूर्णरुपमा सुचारु हुने बताए ।

‘जिल्ला प्रशासनले राइड सेयर कम्पनी नै तोकेर सञ्चालन अनुमति नदिएपनि हामी सेवा सुरु गर्न लागेको हौं’ उनले भने ‘प्रशासनले रोक लगाउनपनि सक्छ त्यो सञ्चालन भएपछि मात्रै थाहा हुन्छ’ । गत बर्ष निषेधाज्ञा खुलेपनि यस्ता कम्पनी सञ्चालन भएका थिएनन् ।

सार्वजनिक यातायात नचलेको अवस्थामा यात्रुलाई यो सेवाले राहत दिने व्यवसायीको भनाई छ । भट्टका अनुसार मंगलबारदेखि राइडरहरुलाई स्वास्थ्य मापदण्ड पालना गराएर यात्रुको ओसारपसार गर्ने छ ।

कम्पनीहरुले राइडरहरुलाई सेवा सुरु हुने भन्दै तयारी गर्न म्यासेज समेत पठाइसकेका छन्  ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागी उपत्यकामा सार्वजनिक यातायात तथा अन्य भिडभाड हुँने क्षेत्रलाई केहिम समय रोक लगाइने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !