७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

करिब २ अर्ब खर्चेर भारतीय कम्पनीले बनाएको सडकको हाल छ बेहाल, आयोजना प्रमुख भन्छन काम ठिक छ



लुम्बिनी- भैरहवाबाट लुम्बिनी हुँदै कपिलवस्तु पुग्ने सडक स्तरोन्नति भएको ५ महिना पनि पुगेको छैन। भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकका लागि स्तरीय सडक पूर्वाधारको अवधारण अन्तर्गत सरकारले भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवा सम्मको सडक स्तरोन्नति गरेको थियो। तर अहिले त्यो सडकमा खाल्डै खाल्डा छन्। सडकको स्तरोन्नति गर्दै भैरहवाको बुद्ध चोकदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहासम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको थियो। एसियाली विकास बैङ्कको सहयोगमा बनेको सडक भैरहवादेखि तौलिहवासम्म ४१ किलोमिटर छ।

भारतीय निर्माण कम्पनी गावर कन्स्ट्रक्सन लिमिटेडले स्तरोन्नतिको जिम्मेवारी पाएको सो सडकको स्तरोन्नति गर्न एक अर्ब ९३ करोड ६३ लाख खर्च भएको थियो। तर सडक ५ महिना पन टिकेन। सडकको विभिन्न स्थानमा ठुला खाल्डा छन्। कतै सडकको एक भाग नै भासिएको छ। वर्षौँदेखि हुलाकी सडकको रूपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनीहुँदै कपिलवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले निकै महत्त्वपूर्ण सडक मानिन्छ।

साँघुरो र धुलाम्मे सडकका कारण विदेशी पर्यटकमाझ नराम्रो सन्देश गएपछि सरकारले सडक स्तरोन्नति गरेको थियो। एक वर्षदेखि सो सडकमा सामान्य सवारी साधन चलेका छन्। पूर्ण रूपमा सवारी चल्न नपाउँदै सडक भत्किन थालिसक्यो। लुम्बिनी जाने उक्त सडक खण्डमा औद्योगिक कोरिडोर समेत पर्छ। उक्त कोरिडोरमा अर्बौँ लगानीमा सञ्चालनमा रहेका दर्जन बढी सिमेन्ट, छड, खाद्यान्न लगायतका उद्योग छन्।

सो सडक २०२० जनवरी १२ सम्म निर्माण सम्पन्न गर्ने गरी गावर कन्स्ट्रक्सनले जुलाई १४, २०१७ मा ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गरेको थियो। जुलाई १४ मा काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सकिएको थियो। तीन पटकसम्म भेरियसन भएको ठेक्काको लागत समेत बढेको थियो।

सुरुवातमा १ अर्ब ९३ करोड ६३ लाख भए पनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको थियो। ठेकेदार कम्पनीले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत लिइसकेको छ। भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यका अनुसार सडक हस्तान्तरण भने भइसकेको छैन। ‘तोकिएको समयभन्दा एघार महिना ढिला सम्पन्न भयो, तीन पटक भेरियसन पनि भयो। एक वर्ष मेन्टीनेन्स पिरियड हुन्छ,’ उनले भने। उनले आगामी डिसेम्बरमा हस्तान्तरण हुने बताए।

हस्तान्तरण अगाडि नै सडकका केही भाग भासिइसक्यो। सडकमा खाल्डा छन्। तर आयोजना प्रमुख शाक्य भने रिर्पोट ठिकै भएको दाबी गर्छन्। योजना प्रमुख शाक्यले गुणस्तरीयता र सडकको मापदण्डको विषयमा कन्सल्टेन्टको रिर्पोेट अनुसार नै काम भएको दाबी गरे।

‘कोरोनाका कारण दुई महिनादेखि म सडक निरीक्षण गर्न गएको छैन। तर, सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सल्टेन्टले दिएको रिपोर्ट ठिक नै देखिन्छ,’ उनको दाबी छ। आयोजना प्रमुखले रिर्पोट राम्रै छ भने पनि गावर कन्स्ट्रक्सनका प्रतिनिधि मधु आचार्यले भने सडक भत्किएकोमा आफूहरू अचम्मित बनेको दाबी गरे। उनले सडकको माथिल्लो भाग बिग्रे पनि बेस राम्रो भएको दाबी गरे। उनले मौसममा सुधार आएपछि तत्काल सडक सुधार्ने दाबी गरे।-उकेराबाट साभार


प्रतिक्रिया दिनुहोस !