२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

संवैधानिक इजलासमा मदन भण्डारीको त्यो भाषणको चर्चा



काठमाडौं : प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सभामुखका कानुन व्यवसायीले बहस सकेका छन् । दुई घण्टा समय अवधिमा सभामुखको तर्फबाट बरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्र केशरी न्यौपाने,लव कुमार मैनाली,अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गरे । सभामुख तर्फको बहस सकिएपछि कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले १ घण्टा जवाफ दिए । जवाफी बहसका लागि अब,२ घण्टा दुई मिनेट समय बाँकी छ । सोमबार सो समय अवधिमा वरिष्ठ अधिवक्ता शम्भु थापा,बद्री बहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस गर्न लयर्स पोडियममा उभिएका बरिष्ठ अधिवक्ता श्रेष्ठलाई शुरुमै न्यायाधीश ईश्वर प्रसाद खतिवडाले ५ वटा प्रश्न सोधे । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले एक–एकवटा प्रश्न गरेका छन् । प्रधान न्यायाधीश जबराको प्रश्नको सार थियो । जतिपनि मुलुक छन् त्यहाँ,अदालतले प्रजातन्त्र बलियो बनाउने गरी ब्याख्या गरेको छ, यहाँ (अदालतमा) आएको निवेदनलाई मान्यता दिएमा दल क्षतविक्षत हुँदैन र’

सर्वोच्चले त्यसो गरेमा ‘संविधानलाई पछाडी फर्काएको ठहर्छ कि,बलियो बनाएको ठहर्छ’ भन्दै जबराले श्रेष्ठबाट जवाफ खोजेका थिए । जवाफमा राजनितिक दल सम्बन्धी ऐन–०७३ को दफा ३३ को ब्याख्या गर्दै श्रेष्ठले भने–‘४० प्रतिशत केन्द्रिय सदस्य नभई पार्टी नफुट्ने ब्यवस्था छ, एकपटक दल फुट्दा र जुट्दा फेरी ५ वष फुट्न नपाउने ब्यवस्था छ ।’ ‘संसदमा नेमकिपा,राप्रपा र राष्ट्रिय जनमोर्चा स्वतन्त्र छन्’ श्रेष्ठले भने–‘समानुपातिकमा ३ प्रतिशत भोट ल्याएमा एकजना निर्वाचित हुने ब्यवस्था छ,के यो निर्दलीयता हो त’

धारा १०० (४) अनुसार आफ्नै सांसदले पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने ब्यवस्था भएको जिकिर गर्दै श्रेष्ठले भने–‘दलको नेता असफल भएर प्रधानमन्त्री पनि नछाड्ने र संसदीय दलको नेता पनि नछाडेको अवस्थामा यो अभ्यास गरिन्छ,सिस्टम जोगाउन संविधानले नै दल नचाहिने ब्यवस्था राखेको छ ।’

मदनको त्यो भाषण
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मालाफाइड इन्टेन्सन ९कुत्सित मनसाय० राखेर संसद विघटन गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले राष्ट्रपतिलाई राजनीति नगर्न आग्रह गरेका छन् । ०५२ मा मनमोहन अधिकारीले गरेको सिफारिसमा राजा वीरेन्द्रले ४ दिनसम्म निर्णय नगर्दा स्वर्गीय मदन भण्डारीले गरेको भाषणको चर्चा रमनले गरेका छन् ।

‘वर्तमान राष्ट्रपतिका श्रीमानले त्यतिबेला भन्नुभएको थियो,महाराज आँखा नचम्काई बक्सियोस् हात नलम्काई बक्सियोस्,राजनीति गर्ने भए श्रीपेच खोलेर आए हुन्छ’ श्रेष्ठले भने–‘राजालाई त अधिकार थियो तर,अहिले राष्ट्रपतिलाई अधिकार नै नभएको कुरामा अधिकार छ भन्ने हो भने, हामीले उहाँलाई श्री ७ बनाउन खोजेका होइनौं ।’ श्रेष्ठले राष्ट्रपतिलाई दलभित्र पसेर राजनीति गर्ने भए चुनाव लड्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री (केपी शर्मा ओली) ले राष्ट्रपतिको काँधमा राखेर बन्दुक पड्काउन खोजेको दावी गर्दै बरिष्ठ अधिवक्ता श्रेष्ठले अर्जुन र धृतराष्टको कथा सुनाए । ‘अर्जुन युद्ध मैदानमा पुगेपछि लड्न कस्सिएनन्,त्यहि भएर श्रीकृष्णले गीता सुनाएर भनेका थिए–‘तिमी किन जन्मिएका हौं ’ उनले भने–‘सर्वोच्चले बिराट रुप देखाएर अर्जुनलाई सझाएजस्तै दुर्योधनलाई सम्झाउनुपर्ने अवस्था आएको छ ।’


प्रतिक्रिया दिनुहोस !