१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सरकारी अस्पतालमा बढ्न थाल्यो कोरोना संक्रमितहरुको चाप



काठमाडौं । कोरोना महामारी शिथिल भएसँगै सरकारकाले काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगेको छ । तर, खोप अभियानमा सुस्तता, जनस्वास्थ्यका मापदण्डमा हेलचक्र्याइँ र सम्पर्क पहिचान रोकिँदा संक्रमण दर फेरि बढ्नसक्ने विज्ञहरुले औंल्याएका छन् ।

पछिल्लो एक साताको तथ्यांक हेर्ने हो भने संक्रमण दरको ग्राफ उकालो लागिरहेको देखिन्छ । हिजो बुधबार मुलुकको संक्रमण दर २६.५० प्रतिशत पुग्यो जुन एक सातायताकै उच्च हो । आज भने १७ प्रतिशतमा झरेको छ । आज बिहीबार १८७५ जना संक्रमित भएका छन् भने १२८६ जना निको भएका छन् । आजको संक्रमण दर १७.८५ प्रतिशत रहेको छ । हिजो बुधबार २९ सय संक्रमित थपिएका थिए र संक्रमण दर उच्च देखिएको थियो ।

कूल संक्रमितको ४३.५६ प्रतिशत अर्थात ११ हजार ५६३ सक्रिय संक्रमित बागमती प्रदेशमै छन् । काठमाडौं उपत्यकाको संक्रमण दर २० प्रतिशत आसपासमा छ । कर्णालीमा सर्वाधिक ५० प्रतिशत र गण्डकीमा ४० प्रतिशत संक्रमण दर छ । केही दिनयता अस्पतालहरुमा गम्भीर बिरामीको संख्या बढ्न थालेको छ भने आइसीयू र भेन्टिलेटर ‘अकुपाइड’ हुन थालेका छन् ।

राजधानीका प्रमुख सरकारी अस्पतालहरु शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल र वीर अस्पताल पुनः भरिन थालेका हुन् । त्यहाँ रहेका भेन्टिलेन्टर र आइसीयू अहिले लगभग अकुपाइड छन् । स्वास्थ्य मन्त्रालयले मुलुकका अन्य जिल्लाका अस्पतालमा समेत केही दिनयता कोभिड उपचारमा आउने बिरामीको संख्यामा वृद्धि भएको जनाएको छ ।

असार १७ गते २६.०४ प्रतिशत, १८ गते २१.१८ प्रतिशत, १९ गते २६.१६ प्रतिशत, २० गते २१.३६ प्रतिशत, २१ गते २३.२६ प्रतिशत, २२ गते २२.८९ प्रतिशत, २३ गते २६.५० प्रतिशत, २४ गते १७.८५ प्रतिशत संक्रमण दर कायम छ । स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि भाइरस र मान्छेको घुलमिल हुँदा संक्रमण पुनः उकालो लागेको र जोखिम बढेको जनाएको छ ।

‘निषेधाज्ञा खुकुलो भएपछि भाइरस, मान्छे र वातावरणको इकोसिस्टम मिलेकाले संक्रमण बढेको हो,’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने, ‘थर्ड वेभ आउन सक्ने स्पष्ट संकेत देखिएको छ ।’
आगामी सेप्टेम्बर तथा अक्टोबरमा तेस्रो वेभ आउनसक्ने सरकारी प्रक्षेपण रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । हेलचक्र्याइँ जारी रहे अहिले नै गत अप्रिल र मे महिनाको जस्तो परिस्थिति दोहोरिनसक्ने उनले चेतावनी दिए ।

दोस्रो लहर उत्कर्षमा पुग्दा ती दुई महिनामा अस्पतालमा बेड, आइसीयू र भेन्टिलेटरको चरम अभाव देखिएको थियो । अक्सिजन र औषधी अभावमा थुप्रैले दोस्रो लहरमा ज्यान गुमाएका थिए ।

आइसीयू र भेन्टिलेटरमा चाप

संक्रमित संख्या वृद्धि हुँदै जाँदा उपचारका लागि अस्पताल जाने कोभिड बिरामी पनि बढ्न थालेका छन् । राजधानीका प्रमुख अस्पतालहरु वीर, टेकु, पाटन, शिक्षण अस्पतालमा केही दिनयता कोभिडका बिरामी बढेका छन् भने आइसीयू र भेन्टिलेटर लगभग अकुपाइड छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल सरकारले निजी अस्पताल र मेडिकल कलेजलाई निःशुल्क कोभिड उपचारका लागि अनुमति नदिएकाले सरकारी अस्पतालमा चाप बढेको हुनसक्ने बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका २४ आइसीयूमध्ये २३ वटा भरिएका छन् । अस्पताल निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार ४० वटा कोभिड वार्डमा बिरामी बढेर २९ जना पुगेका छन् । त्यहाँको २२ वटा भेन्टिलेटरमा १७ जना गम्भीर बिरामी छन् ।

‘केही दिनयता दैनिक १५ जनासम्म गम्भीर बिरामी आउन थालेका छन्’ निर्देशक बाँस्तोलाले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै बिरामी बढ्न थालेका छन् जसले गर्दा हामीले थप तयार गर्नेबारे पनि सोचिरहेका छौं । पुनः बढ्ने हो कि भन्ने शंका गर्न सकिन्छ ।’

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा केही दिनयता कोभिड बिरामी बढ्न थालेको प्रवक्ता रामविक्रम अधिकारीले बताए । उनका अनुसार कोभिड वार्डका ५२ आइसीयूमध्ये ३० जना बिरामी छन् । १५ जना भेन्टिलेटरमा छन् । टिचिङको १६५ आइसीयूमध्ये ८३ जना बिरामी छन् । ‘पछिल्ला दिनमा बिरामी बढेको जस्तो देखिएको छ’ प्रवक्ता अधिकारीले बताए, ‘वास्तविकरुपमा बढेको कुरा थाहा पाउन केही दिन अझै यो प्यार्टन हेर्नुपर्ने हुन्छ ।’

धुलिखेल अस्पतालका ३० मध्ये १८ जना आइसीयूमा छन् भने ६ जना भेन्टिलेटरमा छन् । अस्पतालका डा. रमेश मकाजुका अनुसार कोभिडको बिरामीको संख्या ह्वात्तै नबढे पनि स्थिररुपमा बिरामीहरु आइरहेका छन् । वीर अस्पतालको २० वटा आइसीयूमध्ये २० वटै अकुपाइड भएका छन् । वीरमा १३ जना भेन्टिेलटरमा उपचाररत छन् ।

अस्पतालका डा. अच्युत कार्कीका अनुसार केही दिनयता कोभिड बिरामीको संख्यामा वृद्धि भएको देखिन्छ । बिरामी संख्यामा वृद्धि भएसँगै आफूहरु थप तयारीमा लागेको उनले बताए । सरकारले वीरलाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा घोषणा गरेको छ ।

बुधबार दिउँसोसम्म छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका २० वटा आइसीयूमा १७ जना बिरामी छन् । सशष्त्र प्रहरी बल बलम्बुका २० आइसीयूमा १० जना छन् । भक्तपुरका अस्पतालका ६ आइसीयू सबै भरिएका छन् । पाटन अस्पतालका ३० आइसीयूमा बुधबारसम्म २५ जना बिरामी छन् । निजामती कर्मचारी अस्पताल बानेश्वरका सूचना अधिकारी सुमनबाबु मरहठ्ठाका अनुसार १५ वटा आइसीयूमा १२ जना बिरामी छन् । २२ वटा एचडीयूमा ७ वटा बेड खाली छन् ।-नेपालप्रेस


प्रतिक्रिया दिनुहोस !