१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नायिका जेनी कुँवरले गरिन् आत्महत्या



काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् ।

लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।

पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।

प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् ।

६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।


प्रतिक्रिया दिनुहोस !