१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एक सातामै सात सहसचिवहरू सचिव पदमा बढुवा, अझै चार सचिव पद रिक्त



सरकारले एक सातामै सात सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ। अझै चार सचिव पद रिक्त छन्। लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारश समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्ने गरेको छ। बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ। एक रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ।

मन्त्रिपरिषद्ले यो साता कृष्णहरि पुष्कर, गणेश पाण्डे, सुशीलचन्द्र तिवारी, मधुसूदन बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, प्रमिला बजाचार्य, डा. दामोदर रेग्मीलाई सचिव पदमा बढुवा गरेको हो। सरकारले प्रमिला बज्राचार्यबाहेक अन्यलाई बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका आधारमा बढुवा गरेको हो । ब्रजाचार्यको नाम भने दोस्रो नम्बरमा सिफारिस गरिएको थियो। पहिलो नम्बरमा सिफारिस गरिएका सुशीलचन्द्र तिवारीको नाम छाडेर दोस्रो नम्बरकी बज्राचार्यको नाम सरकारले छानेको थियो । तिवारीको बढुवा दोस्रो लटमा मात्रै गरिएको थियो। वरिष्ठ सहसचिव हुँदा बज्राचार्य रेलवे विभागको महानिर्देशक पदमा कार्यरत थिइन्। सचिव पदमा बढुवा भएपछि उनको पहिलो नियुक्ति सोझै खानेपानी मन्त्रालयमा गरिएको थियो।

वरिष्ठ सहसचिवबाट सचिव पदमा बढुवा गरेपछि पहिलो नियुक्ति काठमाडौं बाहिर गर्ने परम्परा छ। बज्राचार्य प्राविधिक सेवा (इन्जिनियरिङ सेवा) की कर्मचारी हुन्। उनलाई उपयुक्त हुने पद काठमाडौंबाहिर नभए पनि खानेपानी मन्त्रालयबाहेक पुनर्निर्माण प्राधिकरण, जल तथा ऊर्जा आयोग, नेपाल ट्रस्ट्रमा प्राविधिकतर्फ सचिव पदको दरबन्दी छ। यसैगरी राष्ट्रिय सतर्कता केन्द्रमा पनि सचिव पदमा धेरैजसो प्राविधिकतर्फकै कर्मचारी पठाउने गरिएको छ तर बज्राचार्यको हकमा भने सोझै मन्त्रालयमा पदस्थापन गरिएको छ।

सचिव पदमा बढुवा भएकाहरू दामोदर रेग्मीलाई गण्डकी प्रदेश, सुशीलचन्द्र तिवारीलाई पुनर्निर्माण प्राधिरण, गणेश पाण्डेलाई कर्णाली प्रदेश, मधुसूदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिवका रूपमा सरकारले पदस्थापन गरेको छ। कृष्णप्रसाद आचार्यलाई भने वन मन्त्रालयमा पदस्थापन गरिएको छ । आचार्य वन तथा कृषि समूहका हुन्। उनलाई समूह मिल्ने वन र कृषि मन्त्रालय मात्रै हो।

सरकारले सातजना सहसचिवलाई सचिव पदमा बढुवा गरे पनि अझै चार सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालयमा अझै तीन सचिव पद रिक्त छन् । प्रधानमन्त्री कार्यालयमा दुई सचिव पद रिक्त भएकै बेला प्रधानमन्त्री कार्यालयका अर्का सचिव खगराज बरालले केही दिनअघि मात्र राजीनामा गरेका छन् । सरकारले उनलाई नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) को अध्यक्षमा नियुक्ति गरेको छ। उनले साउन २४ बाट ५८ वर्षको उमेर हदका कारण सचिव पदबाट अविनार्य अवकाश लिने भएका थिए। अवकाश पाउनुअघि नै उनको नियुक्ति गरिएको छ। बिहीबार मात्र सहसचिव पदबाट सचिवमा कृष्णहरि पुष्करलाई सरकारले अतिरिक्त समूहमा राखेको छ।

हाल नेपाल ट्रस्टमा एक र रक्षा मन्त्रालयका एक सचिव पद रिक्त छन् । रक्षा सचिव रेश्मी पाण्डेले हालै अवकाश लिएपछि रक्षामा सचिव पद खाली भएको हो। अब सचिवमा बढुवा हुने पालोमा अब प्रशासन सेवाका खगेन्द्र नेपाल र किरणराज शर्मा छन्। यसैगरी सचिव बढुवा हुने लाइनमा प्रशासन सेवाबाट राम घिमिरे, हरि मैनाली, डिल्लीराज शर्मा, राजकुमार श्रेष्ठ, रामेश्वर दंगाललगायत छन्। यसैगरी इन्जिनियरिङ सेवाबाट केशव शर्मा, वन सेवाबाट गोविन्द साह, विमलकुमार निर्मललगायत छन्।


प्रतिक्रिया दिनुहोस !