१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

खोप आएपनि राख्ने ठाउँ छैन, सरकारी पक्षकै कारण भण्डारण निर्माण गर्न लागेको ठेक्काको कार्य पनि अलपत्र



चीन र अमेरिकाबाट एकै पटक ठूलो मात्रामा खोप आउँदै छ, तर सरकारले न खोप लगाउने तालिका बनाएको छ न भण्डारणको व्यवस्था गरेको छ। चीनबाट खरिद गरिएको ४० लाखमध्ये ८ लाख डोज खोप ल्याउँदा नै काठमाडौंको टेकुस्थित केन्द्रीय भण्डारणमा ठाउँ अभाव भएको छ । जब कि लगत्तै अमेरिकाबाट १५ लाख र चीनबाट थप ३२ लाख डोज खोप आउँदै छ ।

स्वास्थ्य सेवा विभागले २०७६ कात्तिकमै टेकुस्थित परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन प्रक्रिया सुरु गरेको थियो । तर त्यसअनुसार काम अघि नबढेकाले अहिले खोप राख्न ठाउँ अभाव भएको हो । विभागले २०७६ माघमा खोप भण्डारण भवन बनाउन कौशिल बस्नेत/कुँवर जेभी निर्माण कम्पनी छनोट गरेको थियो । उसले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का स्वीकार गरेको थियो । दुई वर्षभित्र प्रयोग गर्न सकिने गरी ठेक्का सम्झौता भएको थियो । तर एक वर्ष हुँदा जगसमेत खनिएको छैन ।

भण्डारस्थल बनाउने भनिएको जग्गा अहिले पार्किङस्थल बनेको छ । भवन बनाउने स्थानको भित्तामा पर्खाल लगाइएको छ । ठेकेदार कम्पनीले केही मुठा रड पनि झारेको छ । विभागको आपूर्ति महाशाखामा स्वास्थ्य सामग्री माग्न र लिन आउनेहरूले यही ठाउँलाई पार्किङ बनाएका छन् । ‘ठेक्का लागेको भवन बनेको भए अहिले भण्डारणको समस्या पर्दैनथ्यो,’ विभागका एक कर्मचारीले भने, ‘२ देखि ८ डिग्रीमा राख्न मिल्ने खोप ल्याउँदा त भण्डारणको समस्या छ भने माइनस २० डिग्रीमा राख्नुपर्ने खोप कसैले अनुदान नै दिए पनि राख्न समस्या हुन्छ ।’

ठेकेदार कौशिल बस्नेत भने कर्मचारीकै ढिलासुस्तीका कारण भवन बनाउन ढिलाइ भएको आरोप लगाउँछन् । ‘ठेक्का पाएको १५ महिनाभित्र सक्ने गरी काम अघि बढाएका थियौं, भवन बनाउने ठाउँमा कालो माटो भेटिएपछि माटो परीक्षण गर्दा डिजाइन परिवर्तन भयो,’ उनले भने, ‘४२ लाख लागत पनि बढ्ने भयो । थप भएको लागतको रकममा कुरा नमिलेपछि निर्माणमा ढिलाइ भएको हो ।’ कान्तिपुर दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस !