११ असार २०८१, सोमबार
 |   Mon Jun 24 2024
Logo

ओेलीले ढोका बन्द गरिसके, देउवालाई विश्वासको मत दिन्छौ : नेपाल



काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । पुनस्र्थापित संसदलाई बचाउनुपर्ने र महामारी लगायतका चुनौतीको सामना गर्नुपर्ने भएकाले राष्ट्रिय सरकारको आवश्यकता रहेको नेता नेपालको विश्लेषण छ । कोटेश्वरस्थित आफ्नै निवासमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा नेता नेपालले अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालले प्रधानमन्त्री देउवालाई आश्वस्त पारे ।

एमाले नेता नेपालले आगामी चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्न आवश्यक रहेको बताउँदै भने, ‘कोभिडसँग जुध्नुपर्नेछ, आर्थिक संकटको सामना गर्नुपर्नेछ, बाढी पहिरो पीडितको समस्या समाधान गर्नुपर्ने छ, राष्ट्रियताको जगेर्ना गर्नुपर्नेछ, संघीयतालाई जोगाउनुपर्ने र संस्थागत गर्नुपर्नेछ र विकासका कामहरु गर्नुपर्नेछ । यी सबै कामका लागि अब लडाइँ–झगडा बन्द गरेर चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्नुपर्छ नेपालले भने ।

बुधबार बालकोटबाट एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई गद्दार घोषणा गर्दै माफी नदिइने बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिले अब पार्टी एकता र १० बुँदे सहमतिको स्थिति के होला भन्ने प्रश्नमा नेता नेपालले ओलीलाई ‘बर्बराउन छाडेर धर्तीमा उभिन’ सुझाव दिए । ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनले बताए ।

‘उहाँले एकताको ढोका बन्द गर्नुभएको छ, उहाँ बर्बराउन थाल्नुभएको छ, नग्न स्वरुप देखाउनुभएको छ’ बरिष्ठ नेता नेपालले भने, ‘उहाँ सत्ताको नसाबाट तल आउनुपर्छ । धर्तीमा उभिनुपर्दछ । निरंकुशताबाट मुक्त हुनुपर्छ । अराजकहरुको मण्डलीबाट मुक्त हुनुपर्छ ।’ केपी ओली अराजकतत्वहरुको पछि लागेको बताउँदै नेता नेपालले अगाडि भने, ‘अराजक तत्वहरुले कम्युनिस्ट पार्टीलाई सिध्याउँछन् । ओलीले यसैगरी पार्टी र आन्दोलनलाई गलत दिशामा हिँडाउन खोज्नुभयो भने उहाँको योभन्दा ठूलो पतन हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !