१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

निर्वाचन आयोगमा उपस्थित हुने उपेन्द्र पक्षको निर्णय, सर्वोच्चमा परेको रिटप्रति आपत्ति



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको उक्त पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन समेत दिएको छ ।

बैठकमा ५१ मध्ये ३३ जना सदस्यहरु सहभागी भएका थिए । बैठकपछि नेता महेन्द्र राय यादवले आफूहरुसँग बहुमत रहेको बताए । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा संसदीय दलबाट पाारित संसदीय दलको विधान प्रस्तुत भएको उनले बताए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको उनले बताए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने उनको भनाई छ ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।

सर्वोच्चमा परेको रिटप्रति आपत्ति

यादव पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट गलत भएको ठहर समेत गरेको छ । शनिबार बसेको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक निकाय हो, इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ, विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने हाम्रो निष्कर्ष हो ।’

यो विषयमा आफुहरुले कानुन व्यवसायीसँग पनि सल्लाह गरेको उनले बताए । उनले भने, ‘उहाँहरुले पनि यही सल्लाह दिनुभयो कि निर्वाचन आयोगले अहिले कुनै निर्णय गरेको छैन, आदेश मात्र दिएको छ, निर्णय नआएको अवस्थामा त्यसको विरुद्धमा रिट दायर गर्न मिल्दैन’ नेता यादवले भने ।


प्रतिक्रिया दिनुहोस !