१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान गर्न तीन केन्द्रीय सदस्यलाई जिम्मेवारी



काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकलाई विवाद समाधान गर्न जिम्मा दिएको हो । हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता विवाद छिटो हल गर्ने निर्णयसमेत गरेको छ । सिटौला, रिजाल र लेखकलाई चार दिनको समय दिइएको छ ।

भदौ ३ गतेभित्र क्रियाशील विवाद समाधान गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन दिइसक्नुपर्नेछ । यसअघि कांग्रेसले केन्द्रीय सदस्य लेखकको नेतृत्वमा केन्द्रीय क्रियाशील छानबिन समिति गठन गरेर करिब पाँच हजार उजुरी हेरेको थियो । उक्त समितिले अधिकांश विवाद हल गरी साउन १२ मा सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो । समितिले टुंग्याउन नसकेका बारा, सप्तरीलगायत ६ जिल्लाका एक सय वडाका क्रियाशील विवाद अब सिटौला, रिजाल र लेखकले हेर्नेछन् ।

कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील बनाइसकेको छ । विभिन्न जिल्लका विवाद हल गरेपछि र विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील विवरण आएपछि क्रियाशील सदस्य करिब ९ लाख पुग्ने बताइएको छ । यस्तै कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भएको छ । केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय भएको छ । यसअघि भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको भएपनि तीन महिना महाधिवेशन सारिएको छ ।


प्रतिक्रिया दिनुहोस !