१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लागि सक्यो : रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए । कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

हामीले सदस्यतासम्बन्धी विवादलाई टुंगो लगाएका छौं । आइतबार अन्तिम रुप दिएर प्रतिवेदन बुझाउँछौं,’ उनले  भने, ‘म संयोजक रहेको समितिले धेरै विषयमा पहिला नै टुंगो लगाइसकेको थियो । केही विषय पार्टीलाई निर्णय गर्न भनिएको थियो । त्यसमा पनि हामीहरुले सहमति गरेका छौं । सबै कुरा टुंगियो भनेर बुझ्नुस् ।’ क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले बताए ।

नेताहरुबीच टाढाको जिल्लाको क्रियाशील सदस्यता सूची तत्कालै पठाउने सहमति समेत भएको छ । कांग्रेसले भदौ २ सम्म सहमति गरी भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने गरी सदस्यता विवाद टुंग्याउन तीन नेतालाई जिम्मा दिएको थियो । तर नेताहरुले ढिलो गरी सहमतिमा पुगेका हुन् ।

लेखक संयोजक रहेको समितिले साउन १२ गते सभापति देउवालाई क्रियाशील सदस्यतासम्बन्धी अन्तिम प्रतिवेदन बुझाएको थियो । समितिले देशभरका १५० भन्दा बढि वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति गरेको थियो भने बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सुल्झाउने जिम्मा पार्टीलाई दिएको थियो । क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन हुन नसक्ने भएपछि मंसिरमा नयाँ मिति तोकेको हो ।


प्रतिक्रिया दिनुहोस !