१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

देउडा खेल्न आया साथी, भदौकि गमरा



शिवराज भट्ट-

सामाजिक सद्भाव र पारिवारिक मिलनको पर्व गौरा सुदूरपश्चिमवासीका लागि प्रिय पर्व हो। नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं हो तर, यहाँ दसैंलाई जतिकै महत्व गौराले पाउँछ। सुदूरपश्चिमका नौवटै जिल्लामा गौरा पर्व मनाइन्छ। कुनै–कुनै समुदायमा, ‘विरुडा’ न भिजाइए पनि आफन्त वा छिमेकीले दिएको बिरुडाबाट पनि पूजा गर्ने गरिन्छ।

‘विरुडा’ सुदूरपश्चिमको मौलिक शब्द हो। गुराउस, गहत, गहुँ, केराउ र मास गरी पाँचवटा अन्नलाई एकैठाउँ मिसाएर अंकुरित गरिएको पञ्च अनाज नै ‘बिरुडा’ हो। अन्न फरक–फरक भिजाए पनि पूर्वतिर यसलाई क्वाँटी पनि भन्ने गरिन्छ। क्वाँटी स्वादका लागि वा शारीरिक तन्दुरुस्तीका लागि पनि बनाउने गरिन्छ। सुदूरपश्चिममा भने विरुडाको धार्मिक महत्व पनि छ।

भदौ महिनामा पर्ने शुक्ल वा कृष्णपक्ष पञ्चमीबाट गौरा पर्वको सुरुवात हुन्छ। जुन शुक्रबारबाट सुरु भएको छ। यस पर्वमा, विवाहित महिलाको मात्रै सहभागिता हुन्छ। पञ्चमीका दिन विवाहित महिलाले विरुडालाई पाँच पटक छानेर शुद्ध पार्दै तामा वा पित्तलको ताउलोमा भिजाउने गरिन्छ।

परम्परागत रूपमा भगवान शिव र पार्वतीको फाग (सगुन) गाएर महिलाहरूले सामूहिक रूपमा घरघरमा विरुडा भिजाउने गर्छन्। समुदायका ज्येष्ठ आमाहरू भएको घरबाट विरुडा भिजाउन सुरु गरिन्छ भने त्यसपछि सबै महिला सामूहिक रूपमा हरेकको घरमा गएर फाग गाउँदै विरुडा भिजाउँछन्।

पञ्चमीको भोलिपल्ट यसलाई सफा पानीको मुहानमा गएर पखाल्ने गरिन्छ। यसलाई ‘विरुडा धुने दिन’ भनिन्छ। त्यहाँ अझ गाउँ–गाउँका महिलाहरू सहभागी हुन्छ। पहाडी जिल्लामा त तीन/चार गाउँको एकै पँधेरो हुने भएकाले तल्लो मल्लो, वल्लो पल्लो गरी चारै दिशाबाट महिलाहरू विरुडाको भाँडा टाउकोमा राखेर नयाँ पहिरनमा पँधेरोमा फाग गाउँदै आउने गर्छन्।

‘तर, तराईमा पनि गौरा मनाउन थालिएको छ, यहाँ भने एकै समुदायका मानिस पनि कम हुने भएकाले आफ्नै घरको धारामा पनि धुने चलन छ’ बैतडीबाट तराई झर्नु भएकी माधवी भट्टले भनिन्। ‘गौराको रौनक भनेको त पहाड मै थियो।’

तेस्रो दिन अथवा सप्तमीका दिन विरुडालाई अंकुरित हुने गरी पूजाघरमा राखिन्छ। त्यो दिन महिलाहरूले ‘सप्तमी र दुबधागो’ तयार पार्ने गर्छन्। ‘सप्तमी र दुबधागो’ भनेको महिलाको जनैभन्दा पनि फरक पर्दैन।

उपनयन संस्कार पछि, पुरुषले जनै लगाए झैं विवाहित महिलाले (गौराको विधिवत ब्रत गरेपछि मात्र) ‘सप्तमी र दुबधागो’ लगाउने गर्छन। सप्तमीका दिन ‘सप्तमी र दुबधागो’ लाई सुद्ध पारिन्छ भने अष्टमीको दिन ‘सप्तमी र दुबधागो’ लगाएर मात्रै परिवारका सदस्यको पूजा गरिन्छ।

गौराको महत्वपूर्ण दिन भनेको अष्टमीको दिन हो। त्यो दिन महिलाहरू घरमा अंकुरित विरुडा बोकेर नजिकको गौरा घरमा जाने गर्छन्। त्यहाँ दिनभरि गौरीको प्रतिमाको पुजा हुन्छ। महिलाहरूले फाग, शिव पार्वतीका भजन स्त्रोत्र गाएर नित्य पूजा गरिन्छ। त्यो पूजाको समापनपछि मात्रै आफन्तको टाउको पुजन गरिन्छ।

विरुडा अथवा पञ्च अनाजले पूजा गरेपछि परिवार र आफन्तको दीर्घायु हुने र परिवारमा सुखशान्ति हुने विश्वास छ। सुदूरपश्चिमको दार्चुलाबाट कैलाली झरेकी ८२ वर्षीय सरस्वती अवस्थी भन्छिन्, ‘भगवान् शिव पार्वतीले सबैको कल्याण गरून् भनेर हामीहरू ब्रत बस्ने गर्छौं।’

पहाडी जिल्लाबाट तराईमा बसाईँ सरेकाहरूले धेरै उत्साहका साथ गौरा नमनाए पनि, पहाडी जिल्लामा भने यो पर्व धुमधामका साथ मनाइन्छ। हरेकको घरमा गौराका लागि नै नयाँ लुगा किन्ने चलन छ। देशका अरू भेगमा दसैंमा नयाँ लुगा किन्ने गरिन्छ तर सुदूरपश्च्मिका भने गौराका लागि नयाँ–नयाँ लुगा किन्ने गरिन्छ।

‘दसैंमा नयाँ लुगा किन्ने र अझ बढी धुमधामका साथ मनाउने चलन केही वर्ष यता बढे पनि, सुदूरपश्चिमका लागि गौरा नै ठुलो पर्व हो’ पञ्चोदय माविका पुर्व प्रधानाध्यापक अम्बादत्त जोशिदे भने। ‘हरेक प्रदेशको आ–आफ्नो मौलिक पर्व हुन्छ।’

गौराभरि गाइन्छ देउडा
लोकभाकामा देउडा अहिले देशैभरी मनपराइने भाका हो। तर, गौरा भन्ने बित्तीकै देउडाको सम्झना आइहाल्छ। गौरा पर्वमा विवाहित महिलाहरूको बढी सहभागिता भए पनि, यसपर्वमा पुरुषको सहभागिता देउडा खेलेर हुन्छ।

गौरा मन्दिरमा गाउँ–गाउँका डेउडिया आएर खेल हुने गर्छ। डेढ पाइला अघि र डेढ पाइला पछाडि गर्दै गोलो घेरामा पुरुषले खोल्ने खेल नै देउडा हो। पहाडी जिल्लामा त जिल्ला जिल्लाबाट राम्रो/राम्रो डेउडिया गौरामा आएर रातभरी प्रतिष्पर्धा हुने गर्छ।

‘अहिले सामाजिक सञ्चालबाट सहजै मानिसहरू चिनाजानी गरि हाल्छन, तर केही वर्ष पहिना गौरामा खेलिने देउडा खेल नै सामाजिक पहिचान र मनोरञ्जन थियो, मनोरञ्जन त अहिले पनि छ’ वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मी भन्छन्। संस्कृति संरक्षणका लागि अहिले तराईमा पनि देउडा प्रतियोगिता हुने गरेका छन्।

तर, यसपालि कोभिडका कारण यस्ता प्रतियोगिता नगर्न प्रशासनले आदेश गरेको छ। गत वर्ष पनि कोभिडका कारण गौरा पर्वमा त्यत्तिको रौनकता आएको थिएन। यसवर्ष पनि प्रशासनले अष्टमीका दिन सामाजिक दुरी कायम गर्दै नृत्य पुजा गर्ने र २५ /२५ जनाको दरमा भेला हुने निर्देशन दिएको छ। -अन्नपूर्णपोस्टबाट


प्रतिक्रिया दिनुहोस !