१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सुमारलाई ओलीको जवाफ– ‘एमसीसी अगाडि बढाउन सत्ता पक्षसँग नै पर्याप्त बहुमत छ’



एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

भेटमा ओलीले सरकारमा आफ्नो पार्टीको पोजिसन फेरिएको र सत्ता पक्षसँग नै एमसीसी अघि बढाउन प्रस्ट बहुमत रहेको बताएका छन् ।

एमसीसीलाई अघि बढाउने वा नबढाउने भन्ने विषय सत्तामा रहेका दलहरूको नै भएको जवाफ ओलीले दिएको वार्तामा सहभागी प्रतिनिधि मण्डल स्रोतले बताएको छ ।

‘अध्यक्ष ओलीले अहिले एमालेको पोजिसन परिवर्तन भएर विपक्षी दलको हैसियतमा रहेको र एमसीसी अनुमोदन गराउन सत्तामा रहेका दलहरूको नै स्पष्ट बहुमत रहेको कुरा एमसीसीका उपाध्यक्षलाई बताउनुभयो’, एमालेको तर्फबाट भेटवार्तामा सहभागी प्रतिनिधि मण्डल स्रोतले भन्यो ।

भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीको पृष्ठभूमि उल्लेख गरेर एमसीसीको सन्दर्भमा एमालेको धारणा जान्न चाहेकी थिइन् ।

ओलीले भने सत्ता पक्षले स्पष्ट धारणा नबनाई आफूहरूले धारणा नबनाउने बताएको स्रोतले बतायो ।

संसद्को सबैभन्दा ठूलो दल एवं विपक्षी दलका नेता ओलीलाई भेट्न उपाध्यक्ष सुमार ओलीको निवास बालकोट पुगेकी थिइन् । ओली र सुमारबीचमा करीब एक घण्टा भेटवार्ता भएको थियो ।

एमाले अध्यक्ष ओलीसहित विदेश विभाग प्रमुख राजन भट्टराई, नेताहरू विष्णु रिमाल, सूर्य थापा लगायतको टोलीले एमसीसीको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेको थियो ।

एमसीसीका तर्फबाट उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनथन ब्रुक्स लगायत चारजनाको टोली बालकोट पुगेको थियो ।

बिहान ९ बजे काठमाडौं आइपुगेकी सुमारले द्विपक्षीय भेटवार्ता विपक्षी दलको नेताबाट शुरू गरेकी छिन् ।

सरकारको नेतृत्वमा रहँदा एमसीसी अघि बढाउन खोजेका ओलीले सरकारबाट हटेपछि भने एमसीसीको बारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !